सगरमाथा हेर्न लगलगे भ्यू टावर

 मंसिर २४, २०७५ सोमबार १७:११:४७ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा– सिद्धिचरण नगरपालिको पर्यटकीयस्थल लगलगेमा भ्यू टावर निर्माण भएपछि अन्तरिक पर्यटकको आगमन बढेको छ ।

नगरपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले जिल्लामै पहिलो भ्यू टावर निर्माण गरेको हो । टावर निर्माण हुनासाथ पर्यटकहरु टावरबाट देखिने पर्यटकीय स्थल अवलोकनका लागि लगलगे जाने गरेका छन् ।

सिद्धिचरण राजमार्गबाट ४५ मिनेटको उकालो यात्रापछि टावरमा पुग्न सकिन्छ । टावरबाट गौरीशंकर, नुम्बुर, सगरमाथा, ल्होत्सेलगायतका दर्जनौं हिमालका टाकुरा र हिमश्रंखला देखिन्छ । पूर्वमा भोजपुरको टेम्के, साल्पा सिलिचुङसम्म देखिन्छ । मौसम खुलेको बेला दक्षिणमा तराईका भागहरु स्पष्ट देख्न सकिन्छ ।

भू टावरबाट घना जंगलको बीचमा भएकोले हरियाली र चराचुरुंगी समेत देख्न पाइन्छ । टावरको निर्माण सकिए पनि त्यहाँसम्म जाने बाटो भने निर्माण गर्न बाँकी छ । टावर हेर्नकै लागि दैनिक आन्तरिक पर्यटकहरु लगलगे जाने गरेका छन । टावर हेर्न र टावरबाट पर्यटकीयस्थल हेर्न दैनिक जिल्लाभित्र र बाहिरका नागरिक आउने गरेको स्थानीय चन्द्र तामाङले बताउनुभयो ।

रमणीय दृश्य हेर्न पुगेका जिल्ला अदालत ओखलढुंगाका श्रेस्तेदार नेत्रबन्धु पौड्यालले खुलेको समयमा हिमालदेखि तराइका फाँटसम्म देख्दा आनन्द आउने अनुभव सुनाउनुभयो । यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि लगलगेका स्थानीयले होमस्टेको सुरुवात गर्ने तयारी समेत गरेका छन् । जाडोमा घाम ताप्न, पिकनिक खान, घुम्न र हाईकिङका लागि उपयुक्त गन्तव्य लगलगे भ्यू टावर हुनसक्ने स्थानीय बासिन्दा बताउँछन् ।

भ्यू टावर सिद्धिचरण नगरपालिकाको २३ लाख बजेटमा निर्माण भएको हो । निर्वाचित भए लगत्तै पहिलो प्रतिबद्धताको रुपमा मेयर मोहनकुमार श्रेष्ठले एक वर्षभित्र भ्यू टावर निर्माण गर्ने घोषणा गर्नुभएको थियो ।

‘अब भ्यू टावरका लागि आवश्यक दूरबीनलगायतको व्यवस्था गर्ने तयारीमा छौ', उहाँले भन्नुभयो । समुन्द्री सतहदेखि २ हजार ३ सय ७० मिटरको उचाईमा अवस्थित टावर १० मिटर अग्लो छ ।

अन्तिम अपडेट: फागुन २८, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया