ए डिभिजन लिग : मनाङ र आर्मीकाे कठिन जित

 मंसिर २४, २०७५ सोमबार १८:२२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - शहीद स्मारक ए डिभिजन लिग फुटबलमा अपराजित रहेका मनाङ र त्रिभुवन आर्मीले आ-आफ्ना प्रतिद्वन्द्वीविरुद्ध कठिन जित निकालेका छन् ।

जितसँगै मनाङ मर्स्याङ्दी फुटबल क्लबले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउन सफल भएको छ । दोस्रो स्थानमा रहेको थ्री स्टारको १८ अंक हुँदा शीर्ष स्थानको मनाङको २१ अंक छ ।

एन्फा मैदान ललितपुरमा सोमबार भएको दोस्रो खेलमा कमजोर मछिन्द्र विरुद्ध १–० को कठिन जित निकालेको हो । पहिलो हाफमा दुवै टिमले गोल रहित बराबरी खेलेका थिए । 

मनाङलाई गोल गर्न ८५ औं मिनेट कुर्नु परेको थियो । मनाङका लागि अफिज ओलाआलेले गोल गरेका थिए । ५९ औं मिनेटमा डोना थापालाई रिप्लेस गर्दै मैदान प्रबेश गरेका ओलाआलेको गोलले नै मनाङलाई स्पष्ट तीन अंक दिलायो । मछिन्द्रविरुद्ध आक्रामक फुटबल खेलेको मनाङले गरेका आधा दर्जन प्रहार किपरले बचाएका थिए । 

यस्तै सोमबार नै भएको पहिलो खेलमा पनि अपराजित त्रिभुवन आर्मीले ब्रिगेड ब्वाईजमाथि १–० कै जित निकाल्न सफल भयो ।

खेलको १५ औं मिनेटमा ब्रिगेड ब्वाइजले गरेको सशक्त प्रहारलाई आर्मीका गोलकिपर विकेश कुथुले बचाएका थिए । टिमका मुख्य खेलाडी नवयुग श्रेष्ठ र जर्जप्रिन्स कार्की विना नै लिग खेलिरहेको आर्मीले ३६ औं मिनेटमा गरेको उत्कृष्ट प्रहारलाई ब्रिगेड ब्वाइजको डिफेन्सले क्लियर गरेको थियो ।

३९ औं मिनेटमा टेकबहादुर बुढाथोकीको हेड पोष्ट नजिकैबाट बाहिरीयो । ४० औं मिनेटमा ब्रिगेड ब्वाइजले गरेको पोष्ट चार्जलाई विकेशले नै बचाएका थिए ।

त्यसपछि दुबै टिमबाट गोल भएन र आर्मी पहिलो हाफमा बराबरीमा रोकियो । तर दोस्रो हाफमा आर्मी निकै आक्रामक रुपमा प्रस्तुत भयो । ५० औं मिनेटमा टेकबहादुर बुढाथोकीको प्रहार ब्रिगेड ब्वाइजका गोलकिपरले बचाएका थिए ।

५८ औं मिनेटमा भरत खवासले पाएको सुन्दर मौका ब्रिगेड ब्वाइजको डिफेन्सले क्लियर गर्यो । तर ६६ औं मिनेटमा आर्मीले खेलमा अग्रता बनायो । उसका लागि टंकबहादुर बस्नेतले सन्तोष तामाङको क्रसमा गोल गरेका थिए ।

त्यसपछि अरु गोल नहुँदा आर्मीले एक शून्यको कठिन जित निकाल्यो । जितसँगै आर्मीले सात खेलबाट १७ अंक बनाएको छ । तालिकामा आर्मी चौथो स्थानमा छ । सोमबारको खेलसँगै लिगमा सातौं चरणको खेल सकिएको छ । अब आठौं चरणको खेल बिहीबारदेखि सुरुहुने छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया