पर्साको वीरगञ्ज महानगर–१७ अलौमा आगलागी : सात घर जले, ५४ लाख...
बैशाख ११, २०८१ मंगलबार
पर्वत – पर्वत जिल्ला अस्पतालमा ५० शैयाको अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण सुरु भएको छ ।
१५ शैयाको अस्पताललाई स्तरबृद्धि गर्दै ५० शैयाको बनाउन नयाँ भवन निर्माण शुरु भएको हो । नयाँ बन्ने भवनको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार शिलन्यास गरेका छन् ।
अस्पतालको नयाँ भवन २१ करोड १३ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिने शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यालय पोखराले जनाएको छ । नयाँ भवन २०७७ पुस महिनाभित्र सम्पन्न हुने आयोजना कार्यालयका प्रमुख नारायाण भण्डारीले जानकारी दिनुभयो । नयाँ भवनमा ५० शैयाको इन्डोर, आवास गृहदेखि अत्याधुनिक सुविधाहरु रहनेछन् ।
२०४६ सालमा १५ शैयाबाट शुरु भएको पर्वत जिल्ला अस्पतालमा आउने बिरामीका लागि पर्याप्त बेड, जनशक्ति र उपकरणको अभाव हुँदा उपचारका लागि जानुपर्ने अवस्था छ ।
नयाँ भवन निर्माणसँगै आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन गरी पोखरा जानु पर्ने अवस्थाको अन्त्य गरिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द पहाडीले बताउनुभयो ।
‘अब अस्पतालको स्तरबृद्धि गरी सबै सुबिधासहित पर्वतमा नै उपचार पाउने अवस्था आउनेछ’, अध्यक्ष पहाडीले भन्नुभयो । तीन दशकअघिको दरबन्दी, त्यही अनुसारका उपकरण र जनशक्ति समेत अभावमा बिरामीले राम्रो उपचार पाउने अवस्था हुन नसकेको र भएमा अस्पताल प्रतिको आकर्षण बढेर जाने अस्पतालका प्रमुख डा. सन्तोषी थपलियाले जानकारी दिइन ।
अहिले अस्पतालको सबै आर्थिक अधिकार नगरपालिकामा गएका कारण पनि उपकरण खरिद, औषधि खरिदलगायतका विषयहरु झन्झटिलो हुँदा पनि समस्या भएको उहाँको भनाई छ ।
त्यसै अवसरमा बोल्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ठेक्का लगाएपछि काम अलपत्र छाड्ने क्रम बढेकाले काम नगर्र्ने निर्माण व्यवसायीलाई कारबाही गर्न आग्रह गरेका छन् ।
‘ठेक्का पट्टामा बजेट व्यवस्थापन भएर पनि काम भैरहेका छैनन्’, उहाँले भन्नुभयो, ‘ठेक्का लिने तर काम नगर्नेलाई कारबाही गर्न नसक्दा अझै विकृति मौलाउन गएको छ ।’
समयमा निर्माण कार्य गर्नेलाई पुरस्कृत गर्दै जाँदा मोबिलाइजेसन बुझेर काममा हात हाल्ने र समयमा पूरा नगर्नेहरु निरुत्साहित बन्ने उहाँको धारण धारणा छ ।
जनप्रतिनिधिले योजना छनौट र बजेट व्यवस्थापन गर्ने काम गर्दै आएको र समुदाय र उपभोक्ताले समयमा नै गुणस्तरीय निर्माण कार्य भए नभएको अनुगमन गर्दा अझै प्रभावकारीता आउने विश्वास उहाँको छ ।
पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ ।