बाढीपीडितहरुले नगरपालिका परिसरमा सुरु गरे रिले अनसन

 मंसिर २५, २०७५ मंगलबार ११:३९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

बर्दिया – बाढिपीडितहरुले आफ्ना माग सुनुवाई नभएको भन्दै बर्दियाको ठाकुरबाबा नगरपालिका कार्यालय परिसरमा सोमबरदेखि रिले अनसन सुरु गरेका छन् । 

२०७१ साल साउनमा आएको बाढिबाट प्रभावित पूर्ण क्षति भएका बाढिपीडितहरुले अझैसम्म पनि घर बनाउने राहत रकम नपाएको भन्दै ठाकुरबाबा नगरपालिका परिसरमा रिले अनसन सुरु गरेका हुन् ।

नेपाल सरकारले भूकम्प पीडित सरह बाढीपीडितलाई पनि घर बनाउने रकम दिने घोषणा गरे पनि अहिलेसम्म चासो नदिएको भन्दै ठाकुरबाबा नगरपालिकाको बगनाह क्षेत्रका बाढीपीडितहरुले नगरपालिकामा रिले अनसन सुरु गरेको बाढिपीडित संघर्ष समितिका संयोजक हरिप्रसाद लम्सालले जानकारी दिनुभयो ।

२०७१ सालमा आएको बाढिबाट पूर्ण रुपमा प्रभावित साविकको बगनाहा, नेउलापुर, शिवपुर र ठाकुरद्धारा गाविस अहिले ठाकुरबाबा नगरपालिका क्षेत्रका ५ सय ८९ बाढीपीडित मध्ये पहिलो चरणमा बगनाह क्षेत्रका बाढिपिडीतहरु रिले अनसनमा बसेको संयोजक लम्सालले जानकारी दिनुभयो । 
आफूहरुको माग संबोधन नभएमा अनिश्चितकालीन रिले अनसन जारी राख्नेसमेत बाढिपीडितहरुले बताएका छन् । दुई साता अघि बाढी प्रभावितहरुले शान्तिपूर्ण आन्दोलनसमेत गरेका थिए ।

आफ्नो माग सुनुवाई नभएको भन्दै ठाकुरबाबा नगरपालिकाका नगरप्रमख समक्ष ज्ञापन पत्रसमेत बुझाएका थिए । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया