अर्थ र कृषि समितिको संयुक्त बैठक कोरम नपुगेपछि स्थगित

 मंसिर २५, २०७५ मंगलबार १४:१६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – मंगलबार बिहान सिंहदरबारमा बोलाइएको संघीय संसद अन्तरगतको अर्थ र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको संयुक्त बैठक कोरम नपुगेपछि स्थगित भएको छ ।

अर्थ समितिका अधिकांश सांसदहरुको अनुपस्थित भएपछि बिहान साँढे ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो । साँढे १२ बजेसम्म पर्खंदा पनि कोरम नपुगेपछि बैठक बस्न नसकेको हो । सांसदहरुको कार्य व्यस्तताका कारण बैठक स्थगित भएको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिनुभयो ।

संयुक्त बैठकका लागि मस्र्याङदी–२, जलविद्युत आयोजनाको लाइसेन्स खरिद बिक्रीबारे विस्तृत छलफल गर्ने कार्यसूची तय गरिएको थियो । भारतीय कम्पनी जीएमआरले सो जलविद्युत आयोजनाको लाइसेन्स बिक्री गरेपछि तत्सम्बन्धमा अध्ययन गर्न दुवै समितिको संयुक्त बैठक बोलाइएको थियो ।

लाइसेन्स लिने तर आयोजनाको काम अघि नबढाउने कम्पनीलाई कारबाहीको दायरामा ल्याउने विषयमा छलफल गर्न दुवै समितिको संयुक्त बैठक बोलाइएको पनि अर्थ समितिका सभापति दाहालले बताउनुभयो ।

अर्थ समितिले त्यस सम्बन्धमा छानबिन गर्न उपसमिति गठन गर्ने योजना पनि बनाएको छ । संयुक्त बैठक बस्ने अवस्था नभए उपसमिति बनाएर भए पनि त्यो लाइसेन्स खरिद सम्बन्धमा आवश्यक छानबिनको कामलाई अघि बढाउने योजना रहेको अर्थ समितिका सभापति दाहालले बताउनुभयो ।
 
 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया