कोटेश्वर–कलंकी सडक : चीनले हस्तान्तरण गर्दै

 मंसिर २६, २०७५ बुधबार १०:३८:६ | टेकमान शाक्य
unn.prixa.net

काठमाडौं – नेपालकै नमूना सडकको रुपमा हेरिएको चक्रपथको कोटेश्वर–कलंकी सडकखण्डको काम अन्तिम चरणमा पुगेको छ । डिसेम्बर १५ अर्थात आउँदो शनिबार आफ्नो जिम्मेवारीमा रहेका सबै काम सकिएको घोषणा गर्दै हस्तान्तरण गर्ने चीनको सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनीको तयारी छ । ५ वर्ष लगाएर बिस्तार गरिएको ८ लेनको यो सडक–खण्डलाई डिसेम्बर १५ भन्दा उताको समय नचाहिने भएको चक्रपथ सुधार योजनाका प्रमुख सुजन खनालले जानकारी दिनुभयो । 

आउँदो शनिबार निर्माणका सबै काम सकिएको घोषणा गर्ने तयारीमा चिनियाँ ठेकेदार कम्पनी रहेको खनालले बताउनुभयो । २७ किलोमिटर चक्रपथमध्ये सांघाई कम्पनीले १० दशमलव ३९ किलोमिटर सडक विस्तारको जिम्मेवारी लिएको थियो । चिनियाँ ठेकेदार कम्पनीले झण्डै ५ अर्ब रुपैयाँ लगानीमा सडक निर्माण गर्ने समझदारी गरेको थियो । यो चीनकै अनुदान रकम हो ।

नेपाल पक्षको काम बन्द

सडक–खण्डमा नेपाल पक्षले गर्नुपर्ने काम अहिले रोकिएको छ । चिनियाँ ठेकेदार कम्पनीले नै ‘ह्याण्ड ओभर’ नहुन्जेल काम रोक्न आग्रह गरेकोले नेपाल पक्षको काम रोकिएको चक्रपथ सुधार परियोजनाका प्रमुख सुजन खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिले नेपाल पक्षले गर्नुपर्ने कामहरु थाती बसेका छन् । चिनियाँ कम्पनीले सडक–खण्ड विस्तारको काम सक्ने बित्तिकै नेपालले आफ्नो कामलाई निरन्तरता दिनेछ । उनीहरुले आफ्नो काम सकाउनका लागि हामीलाई काम रोकिदिन आग्रह गरेकोले काम रोकिएको हो ।’ 

नेपाल आफैंले गर्नुपर्ने आकाशेपुल, फुटपाथलगायत विस्तारको काम अहिले रोकिएको खनालले बताउनुभयो । चक्रपथ निर्माण गर्दा काटिएका खानेपानीका लाईन, बिजुली बत्ती लगायत पूर्वाधार निर्माणको काममा पनि रोकिएको छ ।

कत्तिपय ठाउँमा पोलहरु पनि सार्नुपर्ने भएको भन्दै खनालले भन्नुभयो, ‘झण्डै ७ किलोमिटर सडकखण्डमा त अझै ठेक्का नै लाग्न सकेको छैन । यो समस्या चीनले बनाएको सडकमा भन्दा पनि सर्भिस ट्रयाकमा हो । त्यो काम पनि केही समयमै गर्ने योजनामा छौं ।’ 

चिनियाँ ठेकेदार कम्पनीसँगको सम्झौताभन्दा ६ वटाभन्दा बढी आकाशे पुल बनाउने योजनामा सरकार छ । आकाशे पुल निर्माणको काम सुरु भए पनि त्यो अहिले रोकिएको चक्रपथ सुधार आयोजनाले जनाएको छ ।

दोस्रो चरणमा कलंकी–नारायणगोपाल चोक खण्ड विस्तार हुने

सरकारले कोटेश्वर–कलंकी सडकखण्डको काम सक्ने बित्तिकै दोस्रो चरणको सडक विस्तारको तयारी पनि सुरु गरेको छ । दोस्रो चरणको सडक विस्तार कार्य अन्तर्गत कलंकीदेखि नारायणगोपाल चोकसम्मको विस्तार गर्ने तयारी भैरहेको चक्रपथ सुधार परियोजनाका प्रमुख खनालले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘पहिलो चरणको कामपछि दोस्रो चरणमा कलंकीदेखि महाराजगन्जसम्मको सडक विस्तार गर्ने सम्झौता हुने छ । हामीलाई सडक कस्तो बनाउने भन्ने नक्सा प्राप्त भएपछि सम्झौता हुन्छ र काम अगाडि बढ्छ ।’ 

दोस्रो चरणको कामको जिम्मेवारी पनि चिनियाँ कम्पनीले नै पाउने सम्भावना रहेको खनालको भनाई छ ।

आकाशे पुल व्यवस्थापन 

सरकारले कलंकी कोटेश्वर सडक–खण्डमा ६ वटा आकाशेपुल थप्ने निर्णय गरेको छ । तर काम भने रोकिएको छ । सरकारले पछि थपेको आकाशे पुल पनि पर्याप्त नभएको नागरिक स्तरबाट गुनासो छ ।

चिनियाँ डिजाईनमा आकाशे पुलको बारेमा उल्लेख नभएको र त्यसबारेमा छलफल पनि नभएकोले अहिले नेपालले नै केही ठाउँमा आकाशे पुल थप गरी बनाउन लागेको चक्रपथ सुधार परियोजनाले जनाएको छ ।

वृक्षारोपणमा ढिलाई

चिनियाँ ठेकेदार कम्पनी सांघाईले निर्माण गरेको कलंकी–कोटेश्वर सडकखण्डमा हजारौं रुखहरु काटिएका छन् । ती काटिएका रुखहरुको ठाउँमा १ रुख बराबर ७ वटा रुख रोप्ने योजना बनेको थियो । तर त्यो काम अहिलेसम्म सुरु हुन सकेको छैन । सडक–खण्डमा रुख रोप्नका लागि केही खालि ठाउँ छाडिए पनि वृक्षारोपण भने नभएको चक्रपथ सुधार आयोजनाका प्रमुख सुजन खनाल स्वीकार्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘चीनले सडक टेक ओभर गरेपछि वृक्षारोपण गर्ने तयारी गर्दैछौं । त्यस्ता ठाउँमा ठूला रुख नभई साना बुट्यान खालका रुखहरु लगाउँछौं ।’ कस्ता खालका विरुवा र कत्ति लगाउने भन्ने अध्ययन भैरहेको र अहिले नै भन्न नसकिने प्रमुख खनालले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया