देउवा नआएपछि फेरि सर्‍याे संवैधानिक परिषद बैठक

 मंसिर २६, २०७५ बुधबार ११:५४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – संवैधानिक परिषदले बुधबार पनि प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न सकेन । प्रमुख प्रतिपक्ष दलका नेता एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि बैठक विहीबार बिहान नौं बजे पुनः बस्ने गरी स्थगित गरिएको हो । 

प्रमुख प्रतिपक्ष दलका नेता देउवाले बैठकमा आउन नसक्ने जानकारी गराएपछि बुधबारको बैठक पनि भोलिसम्मका लागि स्थगित गरिएको राष्ट्रियसभाका अध्यक्ष एवम् परिषदका सदस्य गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । मंगलबार अपरान्ह बोलाइएको बैठक पनि प्रतिपक्ष दलका नेता देउवाले नभ्याएपछि स्थगित गरिएको थियो । राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले भोलि बस्ने बैठकले भने प्रधानन्यायाधिश सिफारिसका लागि आवश्यक निर्णय लिने विश्वास पनि व्यक्त गर्नु भयो ।

पुस ५ गते बस्ने निर्णय गरिएको संवैधानिक परिषदको बैठक प्रधानन्यायाधीशमा नियुक्तीका लागि सिफारिस गर्न ढिलाई हुने भएपछि प्रधानमन्त्री एवम् परिषदका अध्यक्ष केपी ओलीले मंगलबार बेलुका नौ बजेतिर प्रमुख प्रतिपक्ष दलका नेता देउवालाई बुधबार बिहानका लागि बैठक बोलाउनु परेको जानकारी गराउनु भएको थियो । 

पार्टीको महासमिति बैठकको तयारीका कारण देउवा परिषदको बैठकमा उपस्थित हुन नसकेको उहाँको निजी सचिवालयले जनाएको छ । प्रधानन्यायाधीश रिक्त हुनु एक महिना अघि नयाँको नाम सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्र उमेर हदका कारण पुस १७ गते अवकाश हुनुहुनेछ । परिषदको बैठकमा नयाँ प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशद्धय दिपकराज जोशी र चोलेन्द्रशमशेर राणाको नाम न्याय परिषदले पठाएको छ । जोशी यस अघि नै संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत हुनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया