‘आफ्नो लागि त सबै बाँच्छन्, अरुका लागि पो बाँच्नुपर्छ’ भन्दै सांसद चौधरीले नगरपालिकालाई दिए ५ करोडको जग्गा

 मंसिर २६, २०७५ बुधबार १३:५२:४३ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिकाको कार्यालय भवन निर्माणकालागि प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरीले झण्डै पाँच करोड रुपैयाँ भन्दा बढी मूल्यको १० कट्ठा जग्गाको लालपूर्जा हस्तान्तरण गर्नुभयो ।

पातो बजारमा रहेको जग्गा दान गरी त्यसको लालपूर्जा डाक्नेश्वरी नगरपालिकामा आयोजित एक समारोहका बीच मेयर शिवनारायण साहलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै पातो निवासी सांसद चौधरीले आफूले विद्यार्थी जीवनकालमा राजा हरिश्चन्द्रको नाटक हेरेर दान गर्नका लागि उत्साहित भएको बताउँदै बाँचुञ्जेल नागरिकको सेवामा लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

भारतको दरभङ्गामा रहेको मारवाडी कलेजमा अध्ययनरत रहँदा आफ्नै गाउँमा सर्वसाधारण एवम् विपन्न जनताका छोराछोरीले समेत पढ्न पाउन् भने संकल्पका साथ आफ्नै जग्गा दान दिएर विद्यालय खोलेको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘गाउँमै बजार बसाउन, स्वास्थ्य संस्था, कृषि उपकेन्द्र, पशु सेवा केन्द्र, डाक्नेश्वरी भगवती स्थल, सशस्त्र प्रहरी क्याम्प, प्रहरी चौकी, खानेपानीलगायतमा गरी हालसम्म झण्डै ७० बिघा जग्गा दान गरिसकेको छु ।’

वि.सं. २०१८ सालदेखि राजनीतिमा लागेका ७२ वर्षीय सांसद चौधरीले डाक्नेश्वरी नगरपालिका अझैं विकास निर्माण एवम् सेवा सुविधाको दृष्टिकोणले पछाडि रहेको भन्दै उप–प्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले गरेको प्रतिवद्धता अनुसार २५ बेडको अस्पताल निर्माण कार्य यसै वर्षदेखि शुभारम्भ गरिने बताउनुभयो । अस्पतालका लागि समेत आफूले थप १३ कट्ठा जग्गा दिने प्रतिवद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो,  ‘आफ्नो लागि त सबै बाँच्छन्, अरुका लागि पो बाँच्नुपर्छ त्यसैले जिन्दगी रहुञ्जेल जनताको सेवामा जुटिरहन्छु ।’

कार्यक्रममा बोल्दै प्रदेश नम्बर २ का सांसद विदेश्वर यादव ‘बिक्की’ले राष्ट्रिय जनता पार्टीका नेता समेत रहेका चौधरीले पुर्याएको योगदान शब्दमा वर्णन गर्न नसकिने बताउनुभयो ।  

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेशकुमार झाले सांसद चौधरी जिल्लाको पश्चिमी भेगका जनताका लागि वरदान नै साबित भएको बताउनुभयो । डाक्नेश्वरी नगरपालिकालाई नमुना बनाउने उद्देश्यका साथ अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नगरपालिकाका मेयर साहको अध्यक्षतामा आयोजित समारोहमा जग्गादाता चौधरीलाई विशेष सम्मान गरिएको छ । उहाँले नगरपालिकालाई उदाहरणीय एवम् सुविधासम्पन्न बनाउने संकल्पका साथ आफू अगाडि बढेकोले सहयोग गर्न सबै पक्षसँग आग्रह गर्नुभयो ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया