अरुण–३ को ड्यामसाइट फ्याक्सिन्दामा एक वर्षभित्र विद्युत्त व्यवस्थापन गरिने

 मंसिर २६, २०७५ बुधबार १६:४५:१८ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा — संखुवासभाको मकालु गाउँपालिका नुमको फ्याक्सिन्दामा निर्माणधीन अरुण–३ को ड्यामसाइटमा एक वर्षभित्र विद्युत्त व्यवस्थापन गरिने भएको छ ।

अरुण–३, को ड्यामसाइट फ्याक्सिन्दामा विद्युत्त व्यवस्थापन नहुँदा कामले प्रगति लिन नसकेको भन्दै विद्युत्त व्यवस्थापन गर्ने तयारीमा जुटेको हो । धर्मदेवी नगरपालिकाको तिरतिरे सबस्टेशन माम्लिङ्गबाट ड्यामसाइट फ्याक्सिन्दासम्म ३३ केभी प्रशारण लाइन लैजाने तयारीमा जुटेको हो ।

तिरतिरे सबस्टेशनदेखि फ्याक्सिन्दासम्म ९ सय ५८ वटा बिजुलीका पोल (खम्बा)हरु बस्ने सर्भे समेत भइसकेको छ । एक वर्षभित्र त्यो सबै पोलहरु गाडिने अरुण तेस्रो जलविद्युत्त आयोजना निर्माण कम्पनी सतलजले जिल्ला प्रशासन कार्यालयमा आयोजना गरेको सरोकारवालाबीच छलफल कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

आयोजना निर्माण कम्पनी सतलजले विद्युत्त प्र्रशारण लाइनको पोलहरु रहने ठाउँको समेत मुआब्जा दिइने जनाएको छ । सतलजले जिल्लामा गठन गरेको मुआब्जा निर्धारण समिति (सीडीसी) ले निर्णय गरे बमोजिम मुआब्जा वितरण गर्ने आयोजनाले कार्यक्रममा जानकारी दिइयो ।

तर कार्यक्रममा ३३ केभी प्रशारण लाइन पीडितको प्रावधान अनुसार हुनुपर्नेमा सरोकारावालाहरुले जोड दिएका थिए । जग्गाधनीहरुलाई सकेसम्म पुरानै दररेटमा उपयुक्त तबरले मुआब्जा पाउनुपर्ने, प्रभावित क्षेत्रलाई रोजगारमा प्राथमिकता दिनुपर्नेलगायतका भनाई राखेका थिए ।

तार र पोल (खम्बा) मुनी परेको जग्गाको कति मुआब्जा दिने भन्ने विषयमा टुङगोमा पुगी नसकेको जनाउँदै मुआब्जा निर्धारण समिति (सीडीसी) र सरोकारवालाबीच छलफल गरेर नै मुआब्जा वितरण बारेमा छिट्टै टुङ्गाइने प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताउनुभयो ।

नयाँ बन्ने आयोजनाहरुलाई ध्यानमा राखेर पुरानो दररेटमा मुआब्जा बृद्धि गर्न नसकिने तर अन्तर्राष्ट्रिय मापदण्डको आधारमा मुआब्जा निर्धारण गरिने प्रजिअलगायत सरोकारवाला र आयोजना निर्माण कम्पनीले छलफल कार्यक्रममा निष्कर्ष निकालेको थियो ।

तिरतिरे सबस्टेशनबाट खराङ्गको त्रिशुले हुँदै खड्का गाउँ, बंगाली गाउँ, चापाभुइँ, हेवा, अर्चले, लिङ्गलिङ्ग, फापुङ, खप्टुवा, बडरेनी, राम्चेबशी हुँदै ड्यामसाइट फ्याक्सिन्दा पुर्‍याउने भइरहेको छ ।

अहिले अरुण–३, को ड्यामसाइट फ्याक्सिन्दामा तीव्र्र गतिमा काम भइरहेको छ । अहिले सुरुङ्ग मार्ग एक सय ५० मिटर खनिसकेको जनाएको छ ।

 

अन्तिम अपडेट: चैत २५, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया