सरकारलाई कांग्रेस सांसद रिजालको चेतावनी :  दुई तिहाईको दम्भ देखाए त्यसको प्रतिवाद गर्छाैँ

 जेठ ३१, २०७५ बिहिबार १२:५८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संविधानको भावनालाई हरेक स्थानमा कुल्चिँदै गएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाको विहीबारको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको खर्च कटौतिको प्रस्ताव पेश गर्दे सांसद रिजालले सरकारलाई पनि नियम कानुन र संविधानबाट बाहिर जाने अधिकार नभएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको हो  ।
 
सरकारका सबै निकायबाट धम्क्क्याउने, धर्काउने तथा खिसिट्युरी गर्ने काम भएको भन्दै उहाँले दुई तिहाईको दम्भ देखाए प्रतिपक्षी दलले त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।

संविधानमा सभामुख र उपसभामुख भिन्न भिन्न दलको बनाउनुपर्छ भनेर संविधान बनाउदा अगाडि बसेकाहरुले नै अहिले व्यवस्थाको गलत व्याख्या गर्ने गरेको उहाँले आरोप लगाउनुभयो ।

मन्त्रालयको तीन वटा प्रज्ञा प्रतिष्ठानलाई गाभेर एउटै प्रभावकारी संस्था बनाउने प्रस्तावका विषयमा आपत्ती जनाउनुभयो । सबै प्रतिष्ठानले उदाहरणीय काम गरिरहेको भन्दै उहाँले प्रज्ञा प्रतिष्ठानको अपमान गर्ने असंगति पूर्ण काम नहोस् भनि पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो “ललितकला प्रज्ञा प्रतिष्ठानको जग्गामा आखा लाग्यो भन्ने कुरा आएको छ, जग्गामा आखा लाग्या हो कि के हो ?  प्रज्ञालाई यसरी आखा लगाउन पाईँदैन ? प्रज्ञालाई यसरी अपमान गर्न पाईँदैन । प्रज्ञा धेरै मिहेनतसाथ यहाँ पुगेको छ । २० लाख पर्यटक ल्याउदा के देखाउने ? ललितकला प्रज्ञा प्रतिष्ठानको जग्गा लिएर २० तले भवन बनाउने व्यापारिक प्रयोजनका लागि ? अनि त्यसैका लागि पर्यटक ल्याउने ? संगति त हुनुपर्यो नि मन्त्रालयका कामहरुमा । यस्ता असंगतिपुर्ण कामहरु नहोस्, अनुरोध गर्न चाहन्छु । ”

उहाँले पर्यटन मन्त्रालयले वेभसाईटमा तस्वीर थप्ने बाहेक उल्लेख्य काम गर्न नसकेको भन्दै भैपरी आउने शीर्षकमा राखिएको १० करोड बजेट कटौतिको माग गर्नुभयो । २० लाख पर्यटक भित्र्याउने भनिए पनि त्यसका लागि कुनै आधार र काम पर्यटन मन्त्रालयले गर्न नसकेको र पर्यटन मन्त्रीले त्रिभुवन विमानस्थलका कर्मचारीलाई धम्क्याउने काम गरेको आरोप उहाँले लगाउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • बैकुण्ठ

    June 14, 2018, 2:36 p.m.

    आफ्नै पार्टी मा गृहयुद्ध भा मान्छे ले ,अरु को घरमा धम्की दिनु जस्तो भएन र ,सर

  •  0 Reply

तपाईको प्रतिक्रिया