बझाङमा भारी हिमपात : एफएम रेडियो बन्द, जनजीवन कष्टकर

 मंसिर २७, २०७५ बिहिबार १४:५६:३४ | डीबी बिष्ट

बझाङ –  बझाङमा बुधबार रातिदेखि पानी परेसँगै हिमपातसमेत सुरु भएको  छ । 

वर्षासँगै जिल्लाका हिमाली क्षेत्रमाहिमपात सुरु भएको हो । साइपाल गाउँपालिका, सुर्मा गाँउपालिका, छबीसपाथीभेरा गाउँपालिका, र बुंगल नगरपालिकाको माथिल्लो भेगमा हिमपात भएको छ । 

हिमपातका कारण जिल्लामा सञ्चालित सबै एफएम स्टेसनहरु बन्द भएका छन् । बुधबार रातिदेखि वर्षा र हिमपात भएसँगै जिल्लामा सञ्चालित एफएमहरुमा जडान गरिएका सोलारमा चार्ज नहुँदा बन्द भएको रेडियो खप्तड आवाजका अध्यक्ष शैलेन्द्र रोकायाले बताउनुभयो । घाम नलाग्दा जिल्लामा सञ्चालनमा रहेका ५ वटा एफएम स्टेसनमा अवरोध भएको हो । 

यस्तै लगातार परेको हिमपातका कारण जिल्लाका अधिकांश विद्यालयसमेत बन्द भएका छन् । हिमपातका कारण नेपाल टेलिकमको सेवामा समेत समस्या उत्पन्न भएको नेपाल टेलिकम बझाङका कार्यालय प्रमुख बमबहादुर सिंहले बताउनुभयो । घाम नलाग्दा र बुधबार रातिदेखि हिमपातका कारण बाँता र केदारको टावरमा राखिएका सोलार ब्याट्रीहरु चार्ज नभएका कारण नेटवर्क आउने र जाने समस्या भएको उहाँको भनाई छ । 

किसानलाई राहत 

लामो समयसम्म वर्षा नहुँदा हिउँदे  बाली बिग्रने चिन्तामा परेका यहाँका किसानलाई वर्षाले धेरै राहत पुर्‍याएको छ । ‘गएको वर्षको जस्तै खडेरी पर्छ कि भन्ने चिन्ता लागेका थियो । तर पानी परेकाले खेती सप्रने भयो’, कृषक वीरबहादुर बोहोराले भन्नुभयो । 

वर्षा र हिमपातसँगै जिल्लामा जाडो पनि ह्वातै बढेको छ । हिमाली गाउँहरुमा हिउँ जम्न थालेका कारण दैनिक जनजीवन कष्टकर भएको छ । जाडोले केटाकेटी र वृद्धवृद्धा घरबाहिर निस्कन नसकेको छबीसपाथीभेराका प्रकाश धामीले बताउनुभयो । 

 


 

अन्तिम अपडेट: चैत ८, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया