कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा

 मंसिर २७, २०७५ बिहिबार १८:२७:३ | उज्यालो सहकर्मी

काठमाडौं – नेपाली कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको छ । 

नेपाली कांग्रेसले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शनिबारबाट सुरु हुने पार्टी महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको औंपचारिक जानकारी गराएको हो । 

शनिबार बिहान ११ बजे पार्टीका सभापति शेरबहादुर देउवाले महासमिति बैठकको उद्घाटन गर्नु हुने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । महासमिति बैठकमा भाग लिन विभिन्नदेशमा रहेका पार्टीका जनसम्पर्क समितिका प्रतिनिधिहरु काठमाडौं आउने क्रम सुरु भइसकेको पनि पत्रकार सम्मेलन जानकारी दिइएको छ । महासमिति बैठकमा १६ सय जना प्रतिनिधि र पर्यवेक्षकहरु सहभागी हुने पनि प्रवक्ता शर्माले बताउनुभयो ।

महासमिति बैठक उद्घाटन भएकै दिन शनिबार अपरान्हबाट बन्द सत्र सुरु हुने कार्यक्रम पनि तय गरिएको छ । महासमिति बैठक उद्घाटन भएकै दिन अपरान्हबाट बन्द सत्र सुरु हुने प्रवक्ता शर्माले बताउनुभयो । 

बन्द सत्रमा पार्टी केन्द्रीय कार्य समितिबाट पारित पाँच वटै प्रतिवेदनहरु पेस हुनेछ । पार्टीका उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन, महामन्त्री डा. शशांक कोइरालाले सांगठनिक प्रतिवेदन, पार्टीका अर्का महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन प्रतिवेदन, सह–महामन्त्री डा. प्रकाशशरण महतले अर्थनीति सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष सितादेवी यादवले पार्टीको आय/व्यय विवरण समेटिएको प्रतिवेदन बन्द सत्र सुरु भएकै दिन शनिबार पेस गर्नु पनि प्रवक्ता शर्माले बताउनुभयो ।

पुस १ गतेबाट महासमिति बैठकमा प्रतिवेदनमाथिको छलफल प्रदेशस्तरीय ७ वटा समूह बनाएर सुरु हुनेछ । प्रवक्ता शर्माले पुष ३ गते मध्यान्हसम्म सो प्रतिवेदनमाथि छलफल गरी महासमिति बैठकले आवश्यक निर्णय लिने पनि बताउनु भयो । महासमिति बैठकले पार्टीलाई नवीन उर्जा दिने कांग्रेसले विश्वास लिएको छ । पार्टी जीवनलाई महासमिति बैठकले नयाँ उर्जा दिने प्रवक्ता शर्माले दावीसमेत गर्नुभयो ।

कांग्रेसले भोलि शुक्रबार भने महासमिति बैठकमा भाग लिन आएका देशभरका महासमिति सदस्यहरुलाई पार्टी कार्यालयमा स्वागत गर्नेछ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया