युरोपा लिग : चेल्सी बराबरीमा रोकिँदा आर्सनल विजयी

 मंसिर २८, २०७५ शुक्रबार ७:१४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

यूईएफए युरोपा लिगको समूह चरणको अन्तिम खेलमा इंग्लिस क्लब चेल्सी बराबरीमा रोकिँदा आर्सनल विजयी भएको छ । यता सेल्टिक नाटकीय रुपमा नकआउट चरणमा पुगेको छ ।

यसअघि नै नकआउट चरणमा पुगिसकेको चेल्सी समूह चरणको अन्तिम खेलमा एमओएल भिडीसँग दुई–दुई गोलको बराबरीमा रोकियो । दोस्रो रोजाईका खेलाडीलाई मैदानमा उतारेको चेल्सीले भिडीसँग बराबरी खेले पनि समूह एलबाट विजेताका रुपमा अन्तिम ३२ मा प्रवेश गर्‍याे । खेलको ३० औं मिनेटमा विलियमको गोलमार्फत चेल्सीले अग्रता बनाएको थियो ।

तर ३२ औं मिनेटमा भिडीले एमपाडुको आत्मघाती गोलमार्फत खेल बराबरी गर्यो । त्यसपछि ५६ औं मिनेटमा निगोले भिडीका लागि गोल गर्दै अग्रत दिलाएका थिए । तर ७५ औं मिनेटमा ओलिभर जिरुडले बराबरी गोल गरे ।

यता आर्सनलले पनि समूहको अन्तिम खेलमा क्वाराबगलाई एक शून्यले हराउँदै समूहको विजेताका रुपमा नकआउट चरणमा प्रवेश गर्यो । समूह इ को विजेता बनेको आर्सनलले बिहीबार राति क्वाराबगलाई हराउँदा लाकाजेटीको एकमात्र गोल निर्णायक बन्यो ।

स्कटिस च्याम्पियन सेल्टीक भने नाटकीय रुपमा नकआउट चरणमा प्रवेश गर्यो । आफ्नो खेलमा साल्जबर्गसँग दुई एकले पराजित भएको सेल्टीक समूहको अर्को खेलमा रोजेनबर्गले लिपजिङसँग बराबरी खेल्दा नकआउट चरणमा पुग्न सफल भयो । समूहको अन्तिम खेलमा सेल्टीकलाई हराउन साल्जबर्गका लागि डाबुर र गुल्ब्रान्डसेनले एक एक गोल गरे ।

आफ्नो खेलमा हारेपछि समूहको अर्को खेलले सेल्टीकको भाग्य चम्कियो । समूहकै अर्को खेलमा रोजेनबर्ग र लिपजिङले एक एक गोलको बराबरी खेले ।

यता इटालियन क्लव एसी मिलान युरोपा लिगको समूह चरणबाट बाहिरियो । समूहको अन्तिम खेलमा ओलम्पिकोससँग तीन एकको आश्चार्यजनक नतिजा निकाल्दै एसी मिलान बाहिरिन पुग्यो ।

 जितसँगै ओलम्पिकोस नकआउट चरणमा प्रवेश गरेको छ । नकआउट चरणमा पुग्न ओलम्पिकोसलाई दुई गोलको अन्तरले खेल जित्नुपर्ने थियो । हुन पनि त्यस्तै भयो । खेलको पहिलो हाफ गोलरहित बराबरी भएकोमा ६० औं मिनेटमा पेपे आबोउ चिसीले गोल गर्दै टिमलाई अग्रत दिलाए । 

६९ औं मिनेटमा क्रिस्टियन जापाटाले आत्मघाती गोल गरे पनि एसी मिलान दुई शून्यले पछि पर्यो । ७१ औ मिनेटमा मिलानका लागि जापाटाले एक गोल फर्काएका थिए । तर ८१ औ मिनेटमा फर्चुनिसले पेनाल्टीमार्फत गोल गरेपछि एसी मिलान समूह चरणबाट बाहिरिन बाध्य भयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया