चिसो बढ्यो मनाङमा : माथिल्लो भेगबाट तल्लो भेगतर्फ खर्क सारिँदै

 मंसिर २८, २०७५ शुक्रबार १३:४९:२८ | श्यामशितल परियार

लमजुङ – हिमाली जिल्ला मनाङका किसानहरुले खर्क सार्न थालेका छन् । चिसो बढेसँगै किसानहरुले माथिल्लो भेगमा रहेका खर्क धमाधम तल्लो भेगमा सार्न थालेका हुन् ।   

हिमपात सुरु भएसँगै माथिल्लो भेगमा रहेका खर्कहरुमा बाक्लो हिउँ पर्ने, गाईबस्तु तथा हेरालु जाडोमा बस्न नसक्नुका साथै घाँस तथा चरन क्षेत्र पनि हिउँले पुरिने भएकाले चिसो मौसममा माथिल्लो भेगबाट तल्लो भेगमा खर्क सार्ने गरिएको स्थानीय चौँरीपालक किसान कर्म लामाले बताउनुभयो । 

स्थानीय सञ्चारकर्मी नेगम परियारका अनुसार यस क्षेत्रका किसानहरुको माथिल्लो भेग र तल्लो भेगमा गरी २ गोठ रहेका हुन्छन् । चिसो बढेसँगै माथिल्लो भेगमा रहेका खर्कबाट किसानहरुले घरपालुवा पशु याक, चौँरी, च्याङ्ग्रा र भेँडाबाख्रा जिल्लाको तल्लो भेगमा रहेको तालगाउँ, धारापानी, दानाक्यू लगायतमा ठाउँमा सार्न थालेका हुन् । 

‘विशेषगरी मंसिर, पुस र माघ महिनामा माथिल्ला भेगहरुमा हिउँ पर्छ । अति जाडो हुन्छ । घाँस पूरै हिउँले पुर्छ । त्यसैले चिसोमा माथिल्लो भेगमा रहेका खर्कबाट किसानहरु घरपालुवा पशु तल्लो भेगमा सार्ने गर्दछन्’, नेगमले भन्नुभयो । 

हिउँदको समयमा यहाँका तल्लो भेगमा सारिएका खर्कमा रहेका गाईबस्तुलाई फापरको नल, करुको नल र मकैको नल खुवाइन्छ । गाई, गोरु, भेँडा, बाख्रा, च्याङग्रालाई चिसोबाट जोगाउन पशु गोठलाई त्रिपालले घेरिन्छ ।

गोठभित्र सेन (सल्लाको पातको सोतर) ओच्छ्याएर गोठभित्र रहेका पशुलाई न्यानो पारिन्छ । चिसो समयमा तल्लो भेगमा सारिएका खर्क फागुन मसान्ततिर पुनः माथिल्लो भेगमा सार्ने प्रचलन रहेको पनि परियारले बताउनुभयो ।

     
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया