ठग घरफिर्ती केन्द्र र दूतावासमै पनि हुन सक्छ !

 मंसिर २८, २०७५ शुक्रबार १५:४६:३२ | सन्जिता देवकोटा

काठमाडौं – मलेसियामा संगठित रुपले नेपाली कामदार ठगिन थालेपछि दूतावासले आफू पनि सचेत भएको जानकारी दिएको छ ।

दूतावासकै नाम लिएर ठगी गर्ने घटना सार्वजनिक भएपछि आफूहरु यसबारे गम्भीर भएको र नेपाली ठग्नेमाथि कारवाही हुने मलेसियाका लागि कार्यबाहक राजदूत कुमारराज खरेलले बताउनुभयो । तर ठगीमा संलग्न व्यक्तिहरुको पहिचान अझै खुलेको छैन ।

गर्दागर्दैको काम छुटाएर कामदारलाई अवैधानिक बनाइदिने, अवैधानिक भएपछि कामदारलाई अन्त काम लगाइदिने, अनि मलेयिसाको प्रहरीलाई प्रभावमा पारेर आफैंले अबैधानिक बनाइसकेको कामदारलाई पक्राउ गराइदिने र पक्राउ परेको कामदारलाई नेपाल पठाउने नाममा दूतावासको नाम प्रयोग गरी परिवारलाई ठग्ने संगठित धन्दा गर्ने गिरोहको फन्दामा दर्जनभन्दा धेरै कामदार र उनीहरुका परिवार परिसकेका छन् । 

ठगहरुको जालमा परेका रौतहटका संसाद मिया र अश्लम मिया कवारी, बाँकेका सिरज अली गाधी, झापाका युवराज आचार्य, धनुषाका मन्सीकुमार महत्तो, सुनसरीका दिनेश शाह, सप्तरीका सुलेन्द्र यादव र रितेशकुमार यादव, रुपन्देहीका मिनबहादुर बुढामगर तथा रुकुमका शंख बस्नेत र माने कामी नेपाल आएपछि अहिले पनि न्यायको लागि हारगुहार गर्दैछन् । उनीहरुले केन्द्रीय अनुसन्धान व्युरो सिआईबीमा न्यायका लागि निवेदन दिएका छन् । 

एक महिनाअघि कात्तिक २९ मा नेपाल फर्किएका उनीहरु सबैलाई न्यायका लागि उजुरी गर्न प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) ले सहयोग गरिरहेको छ ।

ठग्ने तरिका एकै

न्यायका लागि केन्द्रीय अनुसन्धान ब्युरोमा पुगेका ११ जनालाई ठग्न एकै तरिका अपनाईएको देखिन्छ । बिभिन्न कारणले मलेसियामा जेल परेका नेपालीहरु घरफिर्ती केन्द्रमा पुगेपछि ठगहरु एकाएक चलायमान हुने गरेको पीडितहरुको बयानबाट स्पष्ट हुन्छ ।

घरफिर्ती केन्द्रमा पुगेका कामदारहरुको ट्राभल डकुमेन्टका लागि मलेसियाको प्रहरीले नै विवरण लिने गरेको छ भने यस्ता कामदारको विवरण नेपाली दूतावाससम्म पुर्‍याउने काम पनि प्रहरी र एजेन्टबाट हुन्छ । 

घरफिर्ती केन्द्र र दूतावासको बीचमा कहिँ न कहिँ यस्ता कामदारको विवरण बाहिर निस्कन्छ र कामदार ठग्ने चाल शुरु हुन्छ । सिआइबीमा निवेदन दिने सबै पीडितले मलेसियाको लेङगेङ घरफिर्ती केन्द्रमा पुगेपछि फारममा आफ्नो र परिवारको सम्पर्क नम्बरसहितको विवरण लेख्छन् । उनीहरुले दिएको नम्बरमा दूतावासबाट भन्दै फोन आउँछ  । 

घरफिर्ती केन्द्रमा म दूतावासबाट बोलेको हुँ भन्ने व्यक्तिलाई पीडितको सबै विवरण थाहा भैसकेको हुन्छ । त्यही सूचनालाई प्रयोग गरि फोन गर्ने मानिसले घरफिर्ती केन्द्रमा थुनिएको मानिससँग घर फर्किने टिकटका लागि पैसा चाहिने बताउँछ ।

पीडितले मागेजति पैसा दिन नसक्ने बताएमा फोन गर्ने ब्यक्तिले केही रकम घटाउँछ पनि । पीडितलाई कसले पैसा दिने हो भन्ने कुरा पत्ता लगाएपछि घरफिर्ती केन्द्रका प्रहरीले पीडितका आफन्तलाई फोन लगाइदिन्छन् । पीडित र परिवारबीच कुरा गराईन्छ ।

तर, पैसा दिने आफन्त पत्ता लागेपछि प्रहरीले लामो कुरा गर्न नदिई फोन काटि दिन्छ । त्यसपछि घरफिर्ती केन्द्रमा रहेका पीडित र उस्को परिवारका मानिसबीच कुनै पनि किसिमको सम्पर्क गर्न दिईदैन ।

भनेको जति रकम नपाउञ्जेल, पीडितको घरमा अलग अलग नम्बरबाट तारन्तार फोन आउँछ । तर पीडित र परिवारबीच सम्पर्क हुन दिईदैन । यी सबै घटनाले यस ठगीमा कुनै न कुनै रुपमा मलेसियाको घर फिर्ती केन्द्रमा कार्यरत कुनै न कुनै मलेसियाली प्रहरी र नेपाली दूतावासमा काम गर्ने कुनै न कुनै मानिसको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता छ भन्ने प्रस्ट पार्छन् ।

किनभने, घरफिर्ती केन्द्रमा पीडितले भरेको सबैभन्दा पछिल्लो फारमको जानकारी यी दुई स्थान बाहेक अन्त हुन सक्दैन, अथवा यी काममा संलग्न मानिस बाहेक अरुले कामदारका बिषयमा त्यस्ता सूचना पाउने संभावना पनि हुँदैन ।  

परिवारलाई मानसिक यातना

पीडितलाई एक पटक परिवारसँग कुरा गराएपछि ठगले परिवारलाई बारम्बार फोन गर्ने र बिभिन्न कुरा सुनाएर पैसा उठाउने गरेका छन् । परिवारलाई मानसिक तनाव दिन ठगले फोनमा यस्ता जाल बुन्ने गर्छन् : 

१. तिम्रो मान्छे जेलमा सिकिस्त बिरामी छ । उपचार गर्न यति पैसा चाहिन्छ । 

२. तिम्रो मान्छेले मलेसियामा दामी मोवाइल चोरेको छ । 

३. खान पाएको छैन ।

४. पैसा नपठाए यतै मर्छ । लास पनि नेपाल ल्याउन मिल्दैन । 

५. म नेपाली हुँ । यहाँ वकिलको काम गर्छु । नेपाली भएर नेपालीलाई सहयोग गरेको हुँ । 

सबैलाई ठग्ने व्यक्ति एउटै

पिएनसिसीको सम्पर्कमा आएका ११ जनाका परिवारले नेपालका तीन जना व्यक्तिहरु उदयपुरका सुमन लिम्बु, महोत्तरीका राम दिनेश महतो र सप्तरीका विजयकुमार महतोको नाममा पैसा पठाएका छन् ।

मलेसियामा दूतावासको नाम लिंदै फोन गर्ने व्यक्ति को हुन भन्ने कसैलाई पनि थाहा छैन, तर जस्ले गरे पनि नेपालबाट परिवारका सदस्यलाई रकम जम्मा गर्न उल्लेखित तीन जनाको नाम मात्र प्रयोग गरिएको छ । 

मलेसियाबाट पीडितका परिवारलाई बारम्बार फोन गर्ने ब्यक्तिले नेपालमा रहेका उल्लेखित ३ जनाका खातामा पैसा पठाएपछि पीडितका लागि घरफिर्ती केन्द्रको ढोका खुल्छ । अथवा यहाँ जम्मा भएको प्रसा फोन गर्ने वा गर्न लगाउनेको भागमा पुग्छ ।

पैसा पाएपछि कारबाहीबाट मुक्त गरिदिनेदेखि जेलमुक्त गराएर घर फर्काउने भनेर दिईएको आश्वासन पनि धेरै हदसम्म पूरा भएको छ ।

यी सबै तारतम्य हेर्दा यो ठगीको कारोवार घरफिर्ती केन्द्र र नेपाली दुतावासकै वरपर छ । यो धन्दामा दुबैतिरका मानिस मिसिएका हुन सक्छन्, वा कुनै एक संस्थामा काम गर्ने ब्यक्तिको मात्र मिलेमतो पनि हुन सक्छ ।  

कसरी आए पिएनसिसीको सम्पर्कमा ?

धनुषाका मन्सीकुमार महतोका परिवारले उहाँलाई नेपाल फर्काउन २ लाख ७४ हजार पठायो । तर मन्सीकुमार फर्किन समय लाग्यो ।  

उहाँका दाइ हुनराजले धनुषामा रहेको सुरक्षित आप्रवासन सूचना केन्द्रले विदेशमा समस्यामा परेकाको उध्दार गर्न मद्दत गर्छ भन्ने कुरा थाहा पाउनुभयो । हुनराजले मन्सीकुमारको उध्दारका लागि सूचना केन्द्रमा निवेदन दिनुभयो र आफू ठगिएको कुरा पनि बताउनुभयो ।

केन्द्रले मन्सीकुमारको सबै विवरणसहित उद्धारको पहल गरिदिन काठमाडौंको अनामनगरमा रहेको प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) मा पठायो । काठमाडौंको अनामनगरमा रहेको प्रवासी नेपाली समन्वय समिति वैदेशिक रोजगारीका क्रममा समस्यामा परेकालाई सहयोग गर्ने संस्था हो । 

पिएनसिसीमा मन्सीकुमारको उध्दारका लागि आएको निवेदनका आधारमा मलेसियामा रहेको दूतावासमा पहल गरेको कार्यक्रम सहायक पूर्णिमा हमालले बताउनुभयो । 

त्यसको झण्डै एक महिनापछि दूतावासले मन्सीको टिकट काट्न परिवारलाई आग्रह गर्‍यो । जनकपुरमा टिकट नपाएपछि पूर्णिमाले नै मन्सीका दाइ हनराजलाई ट्राभल एजेन्सीमा सम्पर्क गराइदिनुभयो । र नोभेम्बर १५ (कात्तिक २९) को टिकट काटियो ।

मन्सी सहित १५ नोभेम्बरमा लेङगेङ क्याम्पबाट मात्रै १७ जना फर्किएको झापाका युवराज आचार्यले बताउनुभयो । 

हनराज धनुषाबाट मन्सीलाई लिन विमानस्थल आउनुभएको थियो । १७ जनामध्ये ११ जना मन्सीसँगै बसपार्कको एक होटलमा बसे । मन्सीलाई दाइ हनराजले मलेसियाबाट फोन आएको र पैसा पनि पठाएको कुरा बताएपछि सबैले घरमा फोन गरेका थिए । 

फोनमा सबैका परिवारले पैसा पठाएको बताएपछि उनीहरु घर गएनन् । १६ नोभेम्बरमा पिएनसिसीको कार्यालय पुगे ।

सबैको कथा एकै खालको भएपछि पीएनसीसि नेपाली कामदार संगठित रुपले ठगिएको निचोडमा पुग्यो । सबैजना एउटै व्यक्तिबाट ठगिएको पाइएपछि आफ्नै आवास गृहमा राखेर पिएनसिसीले न्यायका लागि सहयोग गर्न थाल्यो । 

दूतावासको नाममा ठग्नेलाई कारवाही गर्छौं : दूतावास

दूतावासको नाम लिएर समस्यामा परेका नेपाली कामदारहरु ठगिए पनि मलेसियाका लागि कार्यबाहक राजदूत कुमारराज खरेलले दूतावासबाट कसैका घरमा र घरफिर्ती केन्द्रमा फोन गरि टिकट काट्न पैसा चाहिन्छ भन्ने कुरा नगरिएको बताउनु भएको छ ।

दुतावासको नाम लिएर कामदार ठग्ने व्यक्तिलाई कारवाही गरिने पनि खरेलले बताउनुभयो । अवैधानिक भएर मलेसियामा काम गर्ने नेपालीलाई घर पठाइदिने बहानामा ठगीका घटना यसअघि पनि थुप्रै पटक भएको र दूतावासले कारबाही गरेको भन्दै उहाँले यो घटनामा संलग्नलाई पनि दूतावासले आवश्यक कारबाही गर्ने बताउनुभयो । 

‘मलेसियामा अवैधानिक रुपमा बसेका हाम्रा नागरिकमा चेतनाको अभावमा यस्तो भइरहेको छ, दूतावासले पटकपटक सूचना पनि जारी गरेको छ,’ कार्यबाहक राजदूत खरेलले भन्नुभयो, ‘दूतावासले पीडितसँग कहिले पनि पैसा माग्दैन, उनीहरुसँग कसैले दुतावासको नामा लिएर पैसा माग्छ भन्दैमा सुटुक्क दिनु पनि भएन नि ।’

दूतावासले नै ट्राभल डकुमेन्ट बनाउने भए पनि अप्ठेरोमा परेका कामदारसित पैसा नमागिएको र यो घटनाबारे मिडियामा समाचार आएपछि मात्रै जानकारी भएको पनि खरेलले बताउनुभयो । 

मलेसियामा कामदार फसाउँदै नेपालमा परिवार लुट्दै श्रृँखला अन्तर्गत उज्यालोमा प्रकाशित चार जना पीडितको कथा पढ्नुहोस् :

श्रीमानका नाममा चार लाख लुटिएको थाहै भएन नागिया खातुनलाई (भिडियोसहित)

भाइको उद्धारका नाममा दिदीको गरगहना समेत लुटियो(भिडियोसहित)

मलेसियामा बिनागल्ती कोर्रा, फर्किंदा विमानमा बेईज्जत (भिडियाेसहित)

मलेसियन प्रहरीले अवैधानिक बनाइदिँदा ठगिए अश्लम (भिडियोसहित)

 

अन्तिम अपडेट: चैत २३, २०८०

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया