चलचित्र निर्माणका लागि भुवन केसी र  दिपक–दिपाकाे सहकार्य हाेला ?

 मंसिर २८, २०७५ शुक्रबार १७:५०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

हास्य कलाकार दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे र जितु नेपालको सहकार्यले नेपाली चलचित्र उद्योगलाई एकपछि अर्को ब्लकबस्टर चलचित्र दिन सफल भएको छ । 

उनीहरुले वडा नम्बर ६, ६ एकान ६, छक्का पञ्जा श्रृंखला जस्ता सफल चलचित्र निर्माण गरिसकेका छन् । चलचित्र छक्का पञ्जा ३ ले चलचित्र इतिहासकै सबैभन्दा धेरै व्यापार गर्न सफल बनेको थियो । यस्तै उपत्यकाभित्र र बाहिर गरी १३ वटा हलहरुमा ५१ दिन मनाउन पनि सफल भएको थियो ।

यो टिमले हालसम्म एकपछि अर्को सफल चलचित्र दिइरहँदा अब उनीहरुले कस्तो चलचित्र ल्याउलान् भन्ने धेरैको प्रतिक्षाको विषय बनेको छ । नेपाली चलचित्र उद्योगका निर्माता तथा निर्देशकहरु पनि यो टिमसँग सहकार्य गर्न पाएमा सफल भइन्छ भन्नेमा आशावादी देखिन्छन् । 

यतिबेला भुवन केसी र दिपक–दिपाको टिमबीच सहकार्य हुने कुराले नेपाली चलचित्र क्षेत्र तातिएको छ । हुन त यो कुरा केही समय अगाडि नै सुरु भएको थियो, तर सुरु हुन नपाउँदै सेलायो । अहिले आएर पुरानै कुराको चर्चा भइरहेको छ । 

भुवन केसीले निर्माण गरेका चलचित्रहरुलाई पनि दर्शकले रुचाउने गरेका छन् । यस्तै भुवनका छोरा अनमोल केसीले जुन चलचित्रमा अभिनय गरे पनि सफल भइरहेका छन् । यही मौकामा यी २ सफल टिमको सहकार्य हुने हो भने एकपटक चलचित्र उद्योग उनीहरुकै वरिपरी घुम्नेमा विश्वास गर्न सकिन्छ ।

यस विषयमा भुवन केसी र दिपक–दिपा नै सकारात्मक रहेको बताइएको छ । मिल्ने कथावस्तु भए सहकार्य असम्भव नभएको दुवै टिमले बताउँदै आएका छन् । 

पछिल्लो समय यी २ टिमको निकटता समेत बढ्दै गइरहेको छ । चलचित्र छक्का पञ्जा ३ युनिटले निमन्त्रणा दिएको कार्यक्रममा भुवन केसी जसरी पनि पुग्ने गरेका छन् । चलचित्रले ५१ दिनको सक्सेस पार्टीको आयोजना गरेका समय भुवनले दिपक–दिपाको खुलेर प्रशंसा गरेका थिए ।

यसै साताबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सुश्री सम्पत्ति’ हेर्न पनि यी दुवै युनिट चलचित्र हल पुगेका थिए । चलचित्र हेरेर बाहिर निस्कने क्रममा पत्रकारसँग कुरा गर्दै भुवनले दिपक–दिपा नेपाली चलचित्र क्षेत्रको अमूल्य सम्पत्ति भएको प्रतिकृया दिएका थिए । 

उनले भनेका थिए, ‘दिपक–दिपाले नेपाली चलचित्र उद्याेगलाई अर्कै उचाइ दिनुभएको छ, यसको श्रेय वहाँहरुलाई नै जान्छ ।’ उता दिपक–दिपाले पनि भुवन केसीसँगको सहकार्यले अफूहरुलाई अझै बलियो बनाउने बताउँदै सहकार्य असम्भव नभएको बताएका थिए । 

–उज्यालाे र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया