विवाह पञ्चमी महोत्सवमा तीन करोड खर्च, योगीको स्वागतमा प्रदेश सरकारकाे मात्रै ५५ लाख

 मंसिर २८, २०७५ शुक्रबार १८:०:२१ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा –  बुधबार जनकपुरधाममा सम्पन्न रामजानकी विवाह पञ्चमी महोत्सवमा तीन करोड रुपैयाँभन्दा बढी खर्च भएको छ ।

सप्ताहव्यापी विवाह महोत्सवको मुख्य दिन बुधबार भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी जन्तीको रुपमा समेत सहभागी भएपछि उनको स्वागत सत्कार, भोज र विवाह महोत्सवको सम्पूर्ण व्यवस्थापनमा तीन करोड रुपैयाँभन्दा बढी रुपैयाँ खर्च भएको हो ।
 
विवाहपञ्चमी महोत्सवको सम्पूर्ण व्यवस्थापन र मुख्यमन्त्री योगीको स्वागत सत्कारमा अढाई करोड रुपैयाँ खर्च भएको जानकी मन्दिरका सह–महन्त रामरोशन दास बैष्णवले बताउनुभयो ।

सह–महन्त दासका अनुसार जानकी मन्दिरको सजावट, स्वागतद्वार निर्माण, बाह्रबिघा मैदानमा योगीको अभिनन्दनको मञ्च तथा सर्वसाधारणका लागि टेन्ट व्यवस्थापन, विवाहका लागि जानकी मन्दिर प्रांगणमा विवाहमण्डप निर्माण, सात दिनसम्म जानकी मन्दिरमा चलेको हजारौँ साधुसन्तको लागि भोज, योगीको स्वागत अभिनन्दन, अयोध्याबाट आएका साधुसन्तको बिदाईलगायत सम्पूर्ण व्यवस्थापनमा २ करोड ५० लाख रुपैयाँ खर्च भएको हो ।  

प्रदेश २ सरकार र जानकी मन्दिरले यसपटक विवाहपञ्चमी महोत्सवमा भोजसहित अन्य सम्पूर्ण व्यवस्थापनमा अढाई करोड रुपैयाँ खर्च गरेको जनाएको छ । प्रदेश २ सरकारले विवाहपञ्चमी महोत्सवको लागि एकमुष्ट ५० लाख रुपैयाँ दिएको छ भने अन्य खर्च मन्दिरका शुभचिन्तक, दाता र सहयोगीबाट जुटाइएको जानकी मन्दिर व्यवस्थापन पक्षले जनाएको छ ।  

सीताराम विवाहपञ्चमी मूल समारोह समितिका अध्यक्षसमेत रहनु भएका सह–महन्त दासले प्रदेश २ सरकारले एकमुष्ट दिएको ५० लाख रुपैयाँबाहेक अन्य खर्च मन्दिरका शुभचिन्तक, दाता र सहयोगीबाट जुटाएको बताउनुभयो । 

यस्तै प्रदेश २ सरकारले योगीको स्वागत र उहाँको दिवाभोज आयोजनमा ५५ लाखभन्दा बढी रुपैयाँ खर्चेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदका एक कर्मचारीका अनुसार खर्चको सम्पूर्ण विवारण आइतबारसम्म आउने छ । तर प्रदेश २ सरकारले योगीको स्वागतमा ५५ लाखभन्दा बढी रुपैयाँ खर्च गरेको छ । 

एक कर्मचारीले भने, ‘मधेश भवनमा आयोजन गरेको मुख्यमन्त्री योगीको स्वागत अभिनन्दनको लागि मञ्च र पण्डाल व्यवस्थापन, योगीको स्वागत अभिनन्दन र उहाँको स्वागतमा गरेको १ हजार १ मुर्तेको भण्डारा(भोज), ८ वटा स्वागतद्वार निर्माण लगायतमा कमसे कम ५५ लाख रुपैयाँ खर्च भएको छ ।’  
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया