सरकार असफल भइसक्यो : राप्रपा अध्यक्ष थापा

 मंसिर २८, २०७५ शुक्रबार १९:३:५३ | मुना हमाल
unn.prixa.net

फाइल फाेटाे

सुर्खेत –  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार असफल भइसकेको बताउनु भएको छ । 

उहाँले  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चुनावअघि गरेका प्रतिवद्धताअनुसार काम गर्न नसकेको बताउनुभयो । ‘नेकपाले चुनावअघि उठाएका राष्ट्रियता, रोजगारी सिर्जना गर्नेलगायतका कुरा उठाएको थियो । नागरिकले पनि अपेक्षा गरेर बहुमत दिएका थिए’, आज वीरेन्द्रनरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘नेकपाको सरकारले जनअपेक्षा अनुसारको काम गर्न सकेन । असफलतातर्फ सरकार गइरहेको छ ।’ 

उहाँले कम्युनिष्टको ठाउँमा नेपाली कांग्रेस भए पनि अहिलेको अवस्थामा सरकार असफल हुने दावी गर्दै यसको मुख्य कारण ६२–६३ को जनआन्दोलनपछि भएको परिर्वतनलाई स्थापित गर्दा अबलम्बन गरिएको व्यवस्था र नीतिमा नै त्रुटि भएको अध्यक्ष थापाको भनाई छ । 

अध्यक्ष थापाले हिन्दू राष्ट्र निर्माणका लागि आफूहरु सधैँ लागेको बताउँदै अब जनदबाब सिर्जना गर्ने बताउनुभयो ।  उहाँले आफूहरुको बहुमत नभएकाले संविधानमा हिन्दू राष्ट्र लेखाउन नसकिएको भन्दै यस एजेण्डालाई स्थापित गराउन निरन्तरता दिएको बताउनुभयो ।

‘पहिले हामीले बहुमत नहुँदा संविधानमा हिन्दू राष्ट्र लेखाउन सकेनौँ’, उहाँले भन्नुभयो, ‘यसका लागि हामी सधैँ निरन्तर रुपमा लागेका छौँ  । जनताको साथ लिएर सविधानमा हिन्दू राष्ट्र लेखाउँछौँ ।’
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया