३३ केजी सुनकाण्ड तथा वाइडबडी खरिदलगायतका भ्रष्टाचारविरुद्ध कांग्रेसले आवाज नै उठाउन सकेन :  नेता केसी

 मंसिर २९, २०७५ शनिबार १४:५५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले महासमिति बैठकले पार्टीलाई गुट उपगुटबाट माथि उठाउन सक्नुपर्ने बताउनुभएको छ ।

शनिबारदेखि राजधानी काठमाडौंमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दे केन्द्रीय सदस्य केसीले गुट/उपगुटको अन्त्य नभएसम्म कम्युनिष्टसँग लड्न नसकिने भन्दै उहाँले विगतमा भएका गल्तीबारे बिना पूर्वाग्रह समीक्षा गरिनुपर्ने बताउनुभयो । 

गुट/उपगुटभन्दा पनि विधि, नीति र संस्थागत निर्णय गर्ने आधारशीला तयार हुनुपर्नेमा उहाँले जोड दिनुभयो  । विवेक बन्दकी नराखी लोकतान्त्रिक पद्धतिबाट साझा निर्णयमा पार्टीको नेतृत्व जानुपर्ने उल्लेख गर्दै उहाँले महासमितिका सदस्यहरुबाट ‘नेता होइन नीति, व्यक्ति होइन विचार र शक्ति होइन सत्यको पछाडि लाग्छु’ भन्ने संकल्पसहितको प्रतिवद्धता आउनुपर्ने बताउनुभयो ।

उहाँले लोकतन्त्रको संरक्षण लोकतन्त्रवादी नेपाली कांग्रेसबाट मात्रै हुन सक्ने भएकाले त्यसका लागि पार्टी एकता अत्यावश्यक रहेको औल्याउनुभयो । स्वइच्छाचारी ढंगले पार्टी चल्न नसक्ने भन्दै उहाँले हरेक पदाधिकारीहरु महाधिवेशनबाटै निर्वाचित हुनुपर्ने पद्धति बसाल्नुपर्ने बताउनुभयो ।

गुट/उपगुटकै कारण ३३ केजी सुन काण्ड र वाइडबडी खरिदलगायतका भ्रष्टाचारविरुद्ध प्रतिपक्ष दलको आवाज बुलन्द हुन नसकेको भन्दै उहाँले एकताको सवाललाई महासमिति बैठकले निर्णायक बिन्दुमा पुर्याउनुपर्ने उल्लेख गर्नुभयो ।

महासमिति बैठकले कम्युनिष्ट सत्तासँगको संघर्षको रणनीति बनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया