बीमाको औषधि गुणस्तरीय नभएको सेवाग्राहीको गुनासो

 जेठ ३१, २०७५ बिहिबार १८:८:२० | सुजता सुनुवार
unn.prixa.net

इलाम – स्वास्थ्य बीमा प्रभावकारी भए पनि स्वास्थ्य बीमाबाट पाइने निशुल्क औषधि गुणस्तरीय नभएको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।

स्वास्थ बीमा गरेर सेवा लिइरहेका सेवाग्राहीले औषधि गुणस्तरीय नभएको गुनासो गरेका हुन् । गएको एक वर्षदेखि निरन्तर स्वास्थ्य बीमाबाट औषधि खाइरहेकी इलाम नगरपालिका वडा नम्बर ६ की बाटुलीमाया भट्टराईले बीमाको औषधि खाँदा समस्या झन बढेर गएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘मेरो सिङ्गो शरीर नै सुन्निने समस्या छ । बीमाको औषधि खाँदा झन हात खुट्टा शरीर सुन्निदै गएको छ । हामी गरिब हौँ, निःशुल्क औषधि खान पाएका छौँ । सरकारले राम्रो सेवा दिएको छ ।’

उहाँले समस्या समाधान नभई बढेर जाँदा झन शरीरलाई कष्ट भइरहेको दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, ‘कि सेवा दिन ठप्प हुनुपर्‍यो, कि त गुणस्तरीय हुनुपर्‍यो ।’ जिल्ला अस्पताल इलामका अनुसार इलाम जिल्ला अस्पतालबाट मात्रै अहिलेसम्म बिमितमध्ये १४ हजारभन्दा बढीले निःशुल्क औषधिको सेवा लिइसकेका छन् । जसमा ओपीडीमा १२ हजार ८ सय ७३ र इमरजेन्सीमा एक हजार २ सय ८७ ले सेवा लिइरहेको पाइएको छ । 

इलाम अस्पताल इलाम , पशुपतिनगर प्राथमिक स्वास्थ्य केन्द्र इलाम, फिक्कल प्राथमिक स्वास्थ्य केन्द्र इलाम, प्याङ्ग प्राथमिक स्वास्थ्य केन्द्र इलाम र मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्र इलामबाट बीमा गर्नेहरुले सेवा लिइरहेका छन् ।


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया