डोटीको सालमुनी हाईड्रोपावरको काम अन्तिम चरणमा

 जेठ ३१, २०७५ बिहिबार १८:१९:६ | विमल बिष्ट

डोटी – डोटीको बड्डीकेदार गाउँपालिका ९ बिपिनगरमा रहेको कापडी गाडमा निर्माणाधीन सालमुनि हाईड्रोपावरको काम अन्तिम चरणमा पुगेको छ । 

करिब एक अर्बको लगानीमा निर्माण भएको हाइड्रोपावरको काम अन्तिम चरणमा पुगेको विद्युत पावर हाउसका टनेल (सुरुङ) इन्चार्ज मिन पोख्रेलले बताउनुभयो । 
उहाँले भन्नुभयो ‘गएको वैशाख महिनामा काम सक्ने लक्ष थियो, विभिन्न कारणले ढिलो भयो,अब हामी करिब करिब अन्तिम चरणमा पुगेका छौं ।’ 
हाइड्रोपावरलार्इ सनमानदेवी हाइड्रोपावर तथा स्वयम्भु कन्स्ट्रक्सन निर्माण गर्न लागेकाे हो ।

यसको विद्युत उत्पादन क्षमता ३.३३ मेगावाट रहेको टनेल (सुरुङ) इन्चार्ज पोख्रेलले जानकारी दिनु भयो । 

सनमानदेवी हाइड्रोपावर तथा स्वयम्भु कन्स्ट्रक्सन र नेपाल सरकारबीच सम्झौता भए अनुसार हाईड्रोपावरबाट उत्पादन गरिएको विद्युत राष्ट्रिय प्रशारण लाइनमा  जोडिने भनेपछि नेपाल सरकारले नै विद्युत आवश्यक क्षेत्रहरुमा विक्रि बितरण गर्ने भन्ने सम्झौता भएको छ । 

सम्झौता अनुसार ३० वर्षसम्म विद्युत विक्रिबाट आएको रकम निर्माण गर्ने कम्पनीले लिने छ ।

हाइड्रोपावर निर्माणका लागि करिब एक अर्ब लागत लागिसकेको ईन्चार्ज पोख्रेलले बताउनुभयो ।

उहाँले भन्नु भयो ‘हामीले सुरुमा काम गर्दा ८०-९०करोडको लगानीमा काम सम्पन्न होला भन्ने साेचेका थियौं,पछि काम गर्दै जाँदा त्यति रकमले नपुगी एक अर्ब नै लागेको देखिएको छ, तर हामी काम सम्पन्न गरेरै छोड्छाैं ।’ 

बिपिनगरमा हाइड्रोपावर निर्माण हुन थालेपछि त्यहाँका स्थानीयवासी निकै खुशी भएको स्थानीय रोजबहादुर कलेलले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘बत्ति नभएर अन्धकार भएको हाम्रो ठाउँमा केही समयमै झिलीमिली हुने भयो, हामी त्यसैमा खुशी छाैं ।’ 

हाइड्रोपावर निर्माण हुन थालेपछि त्यहाँका सयौं स्थानीयले पनि अहिले रोजगारी पाएका छन् । गाउँमै रोजगारी पाएपछि त्यहाँका स्थानीयहरु कामका लागि भारत जाने परम्परा पनि हट्न थालेको अर्का स्थानीय लोकेन्द्र बहादुर छेडालले बताउनुभयो ।

उहाँले भन्नुभयाे, ‘हाइड्रोपावरले सबैलाई खुशी नै बनाएको छ, घरको खाना खाएर काम गर्न जान्छन्, रोजगारी मिलेको छ, यो भन्दा अरु के नै चाहियो र ।’

हाइड्रोपावरबाट उत्पादन हुने विद्युत वितरण पछि डोटीका सम्पूर्ण गाउँपालिकाहरु लोडसेडिङ मुक्त हुने त्यहाँका स्थानीयले आशा गरेका छन् ।


 

अन्तिम अपडेट: चैत ३०, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया