बर्दिया राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा खुल्यो सुविधासम्पन्न ‘गुन्द्रुक होटल’

 मंसिर २९, २०७५ शनिबार १८:५२:३५ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दिया राष्टिय निकुञ्जले भर्खरै थप गरेको नयाँ प्रवेशद्वार आम्बासामा पर्यटकलाई लक्षित गर्दै सुविधासम्पन्न नयाँ होटल सञ्चालनमा आएको छ । 

निकुञ्जले थप गरेका नयाँ ४ वटा प्रवेशद्वारमध्ये पूर्व–पश्चिम राजमार्गको बर्दिया ठाकुरबाबा नगरपालिका –२, आम्बासा प्रवेशद्वार नजिक आर्कषक सुविधासम्पन्न गुन्द्रक होटल प्रालिले गुन्द्रुक होटल सञ्चालनमा ल्याएको हो । 

बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले एक कार्यक्रमका बीच गुन्द्रुक होटलको उद्घाटन गर्नुभएको छ । होटल उद्घाटन कार्यक्रममा बोल्दै होटल सञ्चालक युवाहरुलाई सुझाव दिँदै सरसफाइ, खानाको स्वाद र व्यवहारमा नम्रता भएमा होटल व्यवसाय राम्रोसँग चल्ने प्रजिअ कुरुम्बाङ्गले बताउनुभयो ।
उहाँले बर्दिया निकुञ्ज आसपासका पर्यटकीय क्षेत्रमा यस्ता सुविधासम्पन्न होटलहरु खुल्नुले बर्दियामा पर्यटन विकासका लागि थप टेवा पुग्ने समेत बताउनुभयो ।

निकुञ्ज अवलोकनका लागि आउने आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि पाँचजना स्थानीय युवाहरुको संयुक्त लगानीमा झण्डै एक करोड रुपैयाँको लागतमा होटल सञ्चालमा ल्याइएको गुन्द्रक होटलका अध्यक्ष बद्रीप्रसाद कठायतले जानकारी दिनुभयो । 

होटलमा २० जनासम्म पर्यटक बस्न सक्ने ८ वटा कोठा रहेका छन् । बर्दिया राष्टिय निकुञ्जको मुख्यालय ठाकुरद्वारामा झण्डै २५ वटा होटलहरु छन् । निकुञ्जले थप गरेका ४ वटा प्रवेशद्वारमध्ये पर्यटकलाई लक्षित गरी सञ्चालनमा आएको यो पहिलो होटल हो । 

निकुञ्ज आसपासको मध्यवर्ति क्षेत्रमा पर्यटक लक्षित सुविधासम्पन्न होटलहरु खुल्दै जानुले वाह्य तथा आन्तरिक पर्यटकहरु बर्सेनि बढ्न थालेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो ।

युवा स्वरोजगार, पर्यटन प्रर्वद्धनसँगै थोरै भए पनि युवाहरुलाई वैदेशिक रोजगारीमा जानबाट रोक्न सकिने उद्धेश्यका साथल होटल सञ्चालनमा ल्याएको होटलका सञ्चालक गोपाल निरौलाले बताउनुभयो ।

गुन्द्रुक होटलले पर्यटकहरुका लागि विभिन्न प्याकेजसमेत बनाएको छ । निकुञ्ज अवलोकनमा आउने पर्यटकहरुका लागि जंगल अवलोकन, क्याम्पिङ र र्‍याफ्टिङलाई पनि प्याकेजमा ल्याएको छ । 

हात्ती सफारी, पैदल जङ्गल अवलोकन, बाघ, गैँडालगायतका वन्यजन्तु अवलोकन र जङ्गल क्याम्पिङ, खानाको परिकारमा पर्यटकहरुले चाहेअनुसारको सेवा, र्‍याफ्टिङमा कर्णाली नदी हात्तिसार, कोठियाघाट र चेपाङ्ग हुँदै वन्यजन्तुको वासस्थान रहको एक मात्र बबई उपत्यकासम्म घुम्न लैजाने व्यवस्था मिलाइएको गुन्द्रक होटलका म्यानेजर पवन थापाले बताउनुभयो । 

पूर्व–पश्चिम राजमार्गको आम्बासा प्रवेशद्वार नजिक रहेको ८ कठ्ठा जग्गामा १५ वर्षका लागि भाडामा लिएर झण्डै एक करोड लगानीमा शुक्रबार बेलुकादेखि होटल सञ्चालनमा आएको हो । 

होटल सञ्चालनमा आएसँगै निकुञ्ज अवलोकनका लागि आएका आन्तरिक पर्यटकहरु होटलमा आउने क्रम पनि सुरु भएको छ ।    
 

अन्तिम अपडेट: चैत १२, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया