कर्णालीमा एकीकृत बस्ती विकासको बाटो खुल्यो

 मंसिर २९, २०७५ शनिबार २०:३:४८ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशमा एकीकृत बस्ती विकासका लागि बाटो खुलेको छ । शनिबार बसेको मन्त्रिपरिषदको बैठकले एकीकृत बस्ती विकास कार्यक्रम कार्यान्वयन कार्यविधि २०७५ स्वीकृत गरेसँगै अब काम गर्न बाटो खुलेको हो ।

बैठकले कर्णाली प्रदेश भूमि समस्या तथा व्यवस्थापन सुझाव समिति गठन आदेश २०७५ स्वीकृत गरेको छ । यस्तै शनिबार बसेको बैठकले  हुम्लाको हिल्सामा एकीकृत भवन निर्माण र द्वन्द पिडित राहात वितरण कार्यविधि, कर्णाली उज्यालो कार्यक्रमको कार्यविधि २०७५ स्वीकृत गरेको छ ।

बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा पेश गरिएको कर्णाली प्रदेश सार्वजनिक खरिद सम्बन्धी निर्देशिका २०७५, कर्णाली प्रदेश खर्च मापदण्ड निर्देशिका (संशोधन) २०७५, कर्णाली प्रदेश योजना आयोग संचालन सम्बन्धी प्रशासकीय कार्यविधि पनि स्वीकृत गरेको छ ।

सरकारकी प्रवक्ता बिमला केसीले नेपाल सरकार समपुरक अनुदान र विशेष अनुदानको लागि योजनाहरू छनोट गरि संघीय सरकारलाई पठाउने निर्णय पनि गरेको जानकारी दिनुभयो ।

कर्णाली प्रदेश सरकारले आफूलाई आवश्यक पर्ने जग्गा र भवन हस्तान्तरण संघीय सरकारसँग माग गरेको छ । शनिबारनै  बसेको मन्त्री परिषद बैठकले प्रदेश सरकारका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि प्रदेश राजधानी सुर्खेतमा भएको सरकारी जग्गा तथा भवनलगायत सम्पूर्ण संरचना प्रदेश सरकारलाई हस्तान्तरणका लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको हो ।

बैठकले कर्णाली प्रदेश सरकारको लागि जग्गा प्राप्ती तथा भवन व्यवस्थापन सम्बन्धी उच्चस्तरीय कार्यदल गठन गरेको छ । बैठकबाट अब कर्णाली प्रदेश राजपत्र प्रकाशन प्रदेशबाटै गर्ने निर्णय पनि गरिएको मन्त्री केसीले जानकारी दिनुभयो ।  


 

अन्तिम अपडेट: चैत १४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया