निजी गाडी चढ्नु रहर कि बाध्यता ?

 पुस १, २०७५ आइतबार १०:२१:३१ | नवराज फुयाँल
unn.prixa.net

काठमाडौं – बानेश्वर जान हिँडेकी नमिता घिमिरे ललितपुरको जावलाखेलमा १ घण्टासम्म गाडी कुर्दा पनि नपाएपछि ट्याक्सीमा जान बाध्य हुनुभयो ।  

जावलाखेल हुँदै बानेश्वरका लागि नेपाल यातायात र टेम्पो जान्थ्यो, तर १ घण्टा कुर्दा पनि कुनै गाडी नआएपछि आफू ट्याक्सी चढ्नुपरेको उहाँले सुनाउनुभयो । गाडीमा जावलाखेलदेखि बानेश्वरसम्म १५ रुपैयाँमै पुगिन्थ्यो । तर ट्याक्सीमा जाँदा कम्तिमा पनि २ सय रुपैयाँ तिर्नुपर्ने उहाँले समस्या बताउनुभयो । 

जावलाखेलमा रहेको एउटा संस्थामा काम गर्ने घिमिरेलाई हरेक दिन बानेश्वर जावलाखेल आउजाउ गरिरहनु पर्छ । बिहान कार्यालय आउँदा त गाडी पाइन्छ, तर साँझ फर्कने बेला गाडी नपाएर हैरान हुने गरेको उहाँ सुनाउनुहुन्छ । 

अफिसमा बेलुकी ८ बजेसम्म बस्नुहुने घिमिरे हिजोआज साढे ६ नहुँदै निस्कनु हुन्छ । तर पनि गाडी पाउन उस्तै सास्ती छ । ‘गर्मी महिनामा ८ बजेसम्मै गाडी पाईन्थ्यो, सजिलो थियो’ उहाँले सुनाउनुभयो, ‘अहिले त साँझ साढे ६ बजे नै निस्के पनि गाडी भेट्टाउनै मुश्किल छ ।’ 

सार्वजनिक गाडी कुर्दाकुर्दै हैरान हुनुभएकी घिमिरे अब भने स्कुटर किन्ने योजनामा हुनुहुन्छ ।

घिमिरे जस्तै धेरैले दिनहुँ यस्तै समस्या भोग्ने गरेका छन् । हिजोआज काठमाडौंमा चक्रपथबाहेक भित्री सडकमा साँझ ६/७ बजेपछि गाडी पाउन मुश्किल पर्छ । अलि लामो भित्री रूट चल्ने गाडीहरूले पनि साँझ परेपछि पुग्नुपर्ने ठाउँ लेखिएको नेम प्लेट नै बदल्ने गरेका छन् । आधा बाटोसम्म लगेर छोडिदिने गर्छन । पुरै रुटमा चलुन्जेल फेरि एकपटक राउन्ड मारेर आउन भ्याइन्छ र दोब्बर कमाइन्छ भन्ने ध्याउन्नमै चालकहरु लागेका हुन्छन् ।  

काठमाडौंको रत्नपार्कमा साँझ साढे ६ बजे भेटिनुभएका निमेश श्रेष्ठ पेप्सिकोला जान हतारिँदै हुनुहुन्थ्यो । ‘वीर अस्पतालमा भाइको उपचार भइरहेको छ,’ श्रेष्ठले भन्नुभयो, ‘दिनभरी भाइको उपचारमा सहयोग गरेर अहिले भने घर जान हिँडेको, खोइ बस नै पाउन मुश्किल भयो ।’ 

दिनमा हिँड्दा पनि कोटेश्वरमा हुने जामले पेप्सिकोलाबाट रत्नपार्क आइपुग्न घण्टौं लाग्छ । साँझमा गाडी नै पाईँदैन । 

श्रेष्ठले पनि अब आफ्नै गाडी किन्ने तयारीमा लागेको सुनाउनुभयो ।  

बढ्दो निजी सवारी  

यातायात व्यवस्था विभागको पछिल्लो तथ्याङ्कले बाग्मती अञ्चलमा मात्रै अहिलेसम्म झण्डै साढे दस लाख सवारी साधन दर्ता भएको देखाउँछ । जसको ३ प्रतिशत मात्रै सार्वजनिक यातायात छन् । तीमध्ये कतिपय बिग्रिएर तथा पुराना भएर गुड्न नसक्ने अवस्थामा  थन्किएका छन् । त्यसलाई पनि घटाउँदा अहिले चलिरहेका सार्वजनिक यातायात ३ प्रतिशत पनि छैन । 

आर्थिक वर्ष २०७४/०७५ मा मात्रै बागमतीमा १ लाख ४ हजार ४ सय ४४ वटा मोटरसाइकल/स्कुटर जस्ता दुईपाङ्ग्रे सवारी दर्ता भएको विभागको तथ्यांकमा उल्लेख छ । त्यस्तै यही अवधिमा साना गाडी अर्थात निजी कार भ्यान मात्रै १४ हजार ५२ दर्ता भएको छ । 

बागमतीमा दर्ता भएकामध्ये अधिकांस मोटरसाइकल र कारहरु काठमाडौं उपत्यकाकै सडकमा गुड्ने गरेको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण उपाध्याय बताउनुहुन्छ । 

तर यही अवधिमा माइक्रो भने १ हजार ४ सय ५७ वटा दर्ता भएको छ । ठूला बसहरु पनि ८ सय ३३ वटा दर्ता भएको यातायात व्यवस्था विभागको तथ्यांकमा छ । 

यो तथ्यांकले निजी सवारीप्रति आम मानिसको आकर्षण बढ्दै गइरहेको देखाउँछ । यसले उपत्यकामा मात्रै नभई देशैभर निजी सवारीको संख्या बढ्दै गइरहेको देखाउँछ ।  

सार्वजनिक सवारीको सकसपूर्ण यात्रा तथा पैदल हिँड्न पनि समस्या हुँदा निजी सवारी किन्नेतर्फ धेरैको ध्यान तानिएको हो । 

ट्राफिक प्रहरीको सन्देश

दैनिक यात्राका लागि सार्वजनिक सवारी साधन प्रयोग गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सर्वसाधारणका लागि सूचना नै जारी गरेको छ । निजी सवारी साधनको बढ्दो प्रयोगले उपत्यकाको ट्राफिक जाम पनि बढाउँदै लगेको भन्दै दैनिक यात्राका लागि सार्वजनिक सवारी प्रयोग गर्न ट्राफिक प्रहरी महाशाखाले सूचना जारी गरेको हो । 

निजी सवारी प्रयोगमा कमी ल्याउन पनि उसले आग्रह गरेको छ । 

महाशाखाका प्रमुख प्रहरी उपरीक्षक बसन्तकुमार पन्तले उपत्यकाको सडकले थेग्नै नसक्ने गरी सवारी हिँड्ने गरेकाले जाम हुने गरेको बताउनुभयो । 

सरकारले सिन्डिकेट हटाएसँगै उपत्यकामा ठूला सार्वजनिक सवारीहरु भित्रिएकाले अब सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रुहरुले पहिले जस्तो कठिनाई भोग्नु नपर्ने पन्त बताउनुहुन्छ ।  

सार्वजनिक यातायातहरु राती ८ बजेसम्मै चलाउनु पर्छ । कतिपय यातायात कम्पनीले तोकिएको रुटमा गाडी चलाउन छाडेर विद्यालय तथा अन्य प्रयोजनमा गाडी प्रयोग गरेको गुनासो आएको भन्दै त्यस्तो तत्काल रोक्न कारबाही थालिने पनि उहाँले बताउनुभयो । 

तर अहिले त साँझ साढे ६ सात बज्दा नबज्दै ठूला सार्वजनिक यातायात मात्रै नभइ माइक्रो तथा साना सार्वजनिक सवारी पनि फाट्ट फुट्ट मात्रै बाटोमा देखिन्छ । साँझ ८ बजेसम्म गाडी पाइहालिन्छ नि भनेर बस्ने यात्रुहरूको त अहिले बिचल्ली नै हुने गरेको छ ।  

सार्वजनिक सवारीमा यात्रा गर्न ट्राफिक प्रहरीले आग्रह गरे पनि सार्वजनिक सवारी पर्याप्त र भरपर्दो नहुँदा दिनहुँ निजी सवारी बढिरहेको हो । 

निर्वाचन आयोगका आयुक्त इला शर्माले निजी सवारी रहर नभई बाध्यताले चलाउनु परेको बताउनुभयो । ट्राफिक प्रहरीले जारी गरेको सूचनालाई लक्षित गर्दै शर्माले ट्विटरमा लेख्नुभएको छ ‘निजी सवारी रहर होइन, बाध्यता हुन्, । सार्वजनिक सवारी भरपर्दो नहुँदा निजी सवारीको संख्या दिनानुदिन बढ्दो छ । यसका लागि पहिले सिण्डिकेट हटाउनुस । अनि अनुरोध गर्नै पर्दैन ।’ 

साँझ परेपछि केही रुटहरुमा गाडि नपाउने समस्यालाई तत्काल यातायात व्यवस्था कार्यालयसँग समन्वय गरेर अनुगमन गरिने ट्राफिक महाशाखा प्रमुख पन्त बताउनुहुन्छ । 

बढेको बढ्यै सवारी  

नेपालमा २९ वर्षको अवधिमा सवारी साधनको संख्या झण्डै साढे ३ सयभन्दा प्रतिशतले वृद्धि भएको छ । प्रजातन्त्रको पुनर्स्थापनापछि अवलम्बन गरिएको खुल्ला अर्थतन्त्रको नीतिसँगै यो २९ वर्षको अवधिमा सवारी साधनको संख्यामा ठूलो मात्रामा वृद्धि भएको हो ।

आर्थिक वर्ष २०४६र४७ मा देशभर जम्मा ७६ हजार ३ सय ७८ वटा सवारी साधन गुड्थे । तर २०७४/७५ मा आइपुग्दा यो संख्या बढेर ३२ लाख ३१ हजार ४२ वटा पुगेको छ । यो मध्ये अधिकांस निजी सवारी साधन छन् । 

अन्तिम अपडेट: चैत १२, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया