श्रीमती र छोरीको हत्या गरी खोलामा शव फाल्ने व्यक्ति पक्राउ

 पुस १, २०७५ आइतबार १७:५६:२० | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौंडा १९ नेवारपानीमा श्रीमती र एक वर्षकी छोरीको हत्या गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बेवारिसे अवस्थामा राप्ती खोलामा प्रहरीले शव भेटाएपछि अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा श्रीमती र छोरीको हत्या श्रीमानले गरेको खुलेको आइतबार पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएको छ । प्रहरीले हत्यामा संलग्न श्रीमानलाई पनि सार्वजनिक गरेको छ ।

नेवारपानीको राप्ती खोलामा श्रीमती र छोरीको हत्या गरी शव फ्यालेर बेपत्ता भएका भारत बिहार राज्य मोतिहारी घर भई हेटौंडा ५ मा डेरा गरी बस्ने महम्द रामजान मियाँ दर्जीलाई प्रहरीले पक्राउ गरेको हो । उनले २५ वर्षकी श्रमीती लालमुन खातुन र एक वर्षकी छोरी रोशन खातुनलाई राप्ती खोलामा लगेर मुख थुनेर घाटी थिचेर मारेको खुलासा भएको छ ।

मंसिर १८ गते हेटौंडा–१९, नेवारपानीमा अन्दाजी एक वर्षकी बालिकाको शव फेला परेको थियो । बच्चाको खोजतलास गर्न कोही नआएकै समयमा मंसिर २२ गते बालिकाको शव फेला परेको स्थान नजिकै एक महिलाको शव पनि प्रहरीले फेला परेको थियो ।

दुवै जनालाई दर्जीले एकै दिन मारेर फालेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले बताउनुभयो । आमा–छोरीको हत्या गर्ने दर्जीलाई पक्राउ गरेर सार्वजनिक गरिएको प्रहरीले जनाएको छ ।

उनले श्रमतीको अन्य व्यक्तिसँग अनैतिक सम्बन्ध रहेको र सधैं झगडा गरिरहने भएकाले राप्ती खोलमा लगेर मारेको प्रहरी सामू स्वीकार गरेको एसपी बुद्धिराज गुरुङले बताउनुभयो । श्रीमती र छोरी मार्न उनका भाई आरमान मियाँले पनि सहयोग गरेको प्रहरीले जनाएको छ ।

आरमान भने फरार रहेका छन् । हत्या गर्ने दिन साँझपख श्रीमतीलाई ‘तिम्रो बुबा बसपार्क आउनुभएको छ, लिन हिँड’ भनेर झुक्याएर अटोमा राखी राप्ती पुर्याएर हत्या गरेको दर्जीले स्वीकार गरेको एसपी गुरुङले बताउनुभयो ।

छोरी र श्रीमतीको हत्या गरी हेटौंडा बजारमा लुकिछिपी बस्दै आएका दर्जीलाई मंसिर २९ गते प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा आफूले हत्या गरेको दर्जीले स्वीकार गरेको गुरुङले जानकारी दिनुभयो ।

छोरी र श्रीमतीको हत्या गर्ने २६ वर्षका दर्जी भारत बिहार राज्य मोतिहारी थाना रामगढवाका भएको प्रहरीले जनाएको छ । उनीहरु हेटौंडा–५, मा कोठा भाडामा लिएर बस्दै आएका थिए । हत्या गरिएकी लालमुन खातुनको माइती पनि भारतमै रहेको प्रहरीले जनाएको छ ।

महिलाको शवसँगै फेला परेको डायरीमा रहेका नम्बरबाट भारतमा रहेका उनका आफन्तलाई झिकाएर घटनाको अनुसन्धान गर्ने क्रममा दर्जी फेला परेको जनाइएको छ । शव मृतक महिलाको दाजु तथा बालिकाको मामा भारतका अलियर मियाँले बुझेर लगेका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया