‘महासमिति बैठकले पार्टीलाई जगाएको छ, सुतेको बाघ ब्युँझिएको छ’

 पुस २, २०७५ सोमबार १२:२९:४७ | बेदानन्द जाेशी
unn.prixa.net

मंसिर २९ गतेबाट कांग्रेस महासमितिको बैठक चलिरहेको छ । सबै जिल्लाबाट कार्यकर्ता र प्रतिनिधिहरु बैठकमा सहभागी हुन काठमाडौं आइपुगेका छन् । उनीहरुले नेतृत्वलाई गुटबन्दी त्याग्न र मिलेर पार्टीलाई अगाडि बढाउन सुझाव दिएका छन् । 

बसन्त कुमार गुरुङ, महोत्तरी

राजनीतिमा हार र जित भइरहन्छ, चुनाव भनेकै हारजितको खेल हो । चुनाव हार्यो भन्दैमा उसले आफ्नो राजनीति नै हारिसक्यो भन्ने हुँदैन । 

नेपाली कांग्रेसको राजनीति जीवित छ । अझ कसरी पार्टीलाई सशक्त तरिकाले अगाडि बढाउने हो त्यसको चिन्तनको लागि हामी महासमितिमा आएका हौं । केही कमीकमजोरीहरु नेताहरुमा होलान् । कार्यकर्ताहरुका गुनासोहरुको सुनुवाई गर्नसेकेको छैन कि भन्ने पनि छ । तर नेताहरु एकदमै निस्कृय छन्, व्यवस्थापनतिर लागेकै छैनन् भन्न चाईँ मिल्दैन । 

अहिलेको विधान कस्तो किसिमको छ, विधानमा के कुरा संसोधन गरेको छ, कहाँ विवाद र मतान्तर छ, त्यो कुरा टुङ्गोमा आइसकेपछि समयअनुसार समायोजन गर्नुपर्ने हुन्छ । महासमिति बैठकबाट हामीले चाहेको यही हो । 

शरदचन्द्र थापा, मोरङ

विधानको कुरा टुंगो लागिसक्यो । गुटको कुरा गर्ने हो भने, त्यसलाई जति लम्ब्यायो त्यति नै जटिल विषय हो । जुनसुकै पार्टीमा पनि गुटको अन्त्य हुने कुरा सम्भव नै हुँदैन । विचार भन्ने कुरा एकको अर्कोसँग मिल्दैन भनेपछि गुटको स्थापना हुने नै भयो । एउटा स्वतन्त्र पार्टीमा गुट रहनु कुनै नराम्रो कुरा पनि होइन नि । तर त्यही गुट भित्र पनि मिलाप ल्याउन नै यो महासमितिको बैठकले महत्वपूर्ण भूमिका खेल्नेछ । अहिले तल्लो स्तरसम्म पार्टीले राम्रोसँग जान पनि सकेको छैन त्यस विषयलाई पनि यो बैठकले सम्बोधन गर्नेछ ।

बिनिता काफ्ले अधिकारी, दोलखा 

यो महासमितिको बैठकले उत्साह जगाएको छ । एउटा माहोल बनाएको छ कि, नेपाली कांग्रेसको पक्षमा महासमिति सदस्य मात्र छैन पुरै देशवासी नै यसमा छन् । जुन कुरा उद्घाटन सत्रले देखाइसकेको छ । 

यो बैठकमा हामी महासमिति सदस्यहरुले आफ्ना एजेण्डा राख्ने अवसर पाएका छौं । हिन्दू धर्मलाई जनमत संग्रहमा लानुपर्छ भन्ने कुरालाई महासमिति बैठकले जोडतोडका साथ उठाउनेछ । युवाहरुलाई आफ्नो पार्टीभित्र कसरी आकर्षित गर्ने भन्नको लागि हामी युवाहरुले नै अब कांग्रेसलाई सुझाव दिनुपर्ने हुन्छ । 

महासमितिको बैठकले नयाँ रंग ल्याएको छ । कुनैबेला समुद्र मन्थन गर्दा अमृत निस्केको थियो । तर त्यो अमृत दानवहरुको हातमा गएको थियो । जस्तो अहिले राज्य कम्युनिष्टहरुको हातमा गएको छ । 

त्यतिखेर दानवहरुले अब यो अमृतलाई के गर्ने होला भनेर अलमल्ल परिरहेको अवस्थामा भगवान विष्णुले मोहिनी रुप धारण गरेर भगवानहरुलाई खुवाईदिनुभएको थियो । हो त्यस्तै मोहिनी रुप हो यो महासमिति बैठक पनि । महासमिति बैठकले नेपाली कांग्रेसलाई जगाएको छ । सुतेको बाघ ब्युँझिएको छ । 

धर्मराज न्यौपाने, कैलाली

वर्षको एकपटक बोलाउनुपर्ने अनिवार्य बैठक ढिलै भए पनि बसेको छ । यसले आम कांग्रेस जनप्रतिनिधि तथा कार्यकर्तालाईं फाइदा हुनेछ । विधानमा निर्देशित प्रावधानलाई संशोधन गर्नुपर्ने भएकाले यसको आवश्यकता भएको हो । संविधान अनुरुप विधान जानुपर्छ भन्ने हामीहरुको माग हो । त्यसअनुरुप विधान संरचना थिएन, अब त्यही अनुसार जानुपर्छ भन्ने कार्यकर्ताको मागको लागि यो बैठकको आवश्यकता परेको हो । अब पार्टी एक भएको सन्देश जाओस् भन्ने नै यो बैठकबाट मेरो अपेक्षा हो ।

अभय कुमार यादव, सिरहा

महासमितिको बैठकले कांग्रेसका कार्यकर्ताहरुमा नयाँ जोश र जाँगर ल्याएको छ । दुई तिहाईकोे कम्युनिष्ट सरकारलाई राम्रो जवाफ पनि हो यो बैठक । पार्टी पदाधिकारीका मागहरु सम्बोधन गर्नु र गर्न नसकिने अवस्थामा त्यसको निकास खोज्नु नै यो बैठकको उदेश्य हो । यसले टाढाटाढाबाट आएका समिति सदस्य तथा पदाधिकारीहरुलाई निराश बनाएर फिर्ता पठाउने निर्णय नगरोस् । 

मोतीराज बम, कालिकोट

पार्टीले कुनै निर्दिष्ट दिशा लिन पनि सकेको छैन । हामीले तेह्रौं महाधिवेशनमा युवालाई निर्वाचित गराउने कुरालाई अघि सारेका थियौं । तर त्यो हुन सकेन । युवा साथीहरु पनि नेताकै पछि लाग्नुभयो । कोही मन्त्री हुने कोही सहयोगी हुनेतर्फ जानुभयो । यसरी कार्यकर्ताहरु विभिन्न गुटमा ढल्न थालेपछि पार्टी झन कमजोर बनेको हो । अब नेपाली कांग्रेस कसरी अगाडि बढ्ने भन्ने चिन्ता अहिले पनि छ । 

प्रजातन्त्रका लागि लडेको एकमात्र पार्टी भनेको कांग्रेस नै हो । वि.सं.२०३३ सालमा हामीहरु पनि राजा विरोधी नै थियौं । त्यतिबेला वीपी कोइरालाले भन्नुभएको थियो, ‘देश खतरामा पर्यो, देश विदेशीको हातमा जाँदैछ, अब यो राष्ट्रिय शक्ति राजा र कांग्रेस मिलेर बचाउनुपर्छ, पहिलो कुरा देश हो व्यक्ति होइन । देश बच्यो भने पो व्यक्ति बच्ने हो ।’ त्यसकारण राष्ट्र बचाउँ, राष्ट्र बचे राष्ट्रिवासी बच्छौं भन्ने त्यतिबेलाको वीपीको मेलमिलाप नीति नै अहिलेपनि सान्दर्भिक छ । अहिले नेपाली कांग्रेसको नेतृत्वले पनि त्यहि कुरा बुझ्ने हो । 

राष्ट्र एकदमै अप्ठ्यारोमा छ, यहाँ धेरै किसिमका चलखेलहरु भइरहेका छन् । कसैले राजालाई उचाल्ने कुरा गरिरहेका छन् । कसैले कम्युनिष्टलाई उचाल्ने कुरा पनि गरिरहेका छन् । यस्तै कांग्रेसभित्र छिरेर कांग्रेसलाई छिन्नभिन्न र अलगअलग पारेर यो देशलाई कमजोर बनाएर आफ्नो स्वार्थपूर्ति गर्ने विदेशी तत्वहरुको चलखेल बढीरहेको छ । 

देशका लागि लडेको पार्टी, यत्रो ठूलो संघर्ष गरेर राणा हराएको, पञ्चायत हराएको, राजालाई हटाएको पार्टी कांग्रेसले यो बेला बुझेन भने नेपाली कांग्रेस पनि प्रजापरिषद जस्तै हुने सम्भावना  देखिन्छ । त्यसकारण यो महासमिति बैठकलाई आयोजना गर्ने केन्द्रीय समितिले र प्रस्तावहरु ल्याउने कमिटीमा बस्ने जो जो छन् उहाँहरुले मुख्य रुपमा देश बचाउने कुरामा लाग्नुपर्छ भन्ने मेरो मान्यता हो । मैले पनि यो कुरा महासमितिको बैठकमा उठाएको छु ।

मीना केसी, पर्वत

पार्टीको कार्यनीति तय गर्न, विधानमा संशोधन गर्न र संघीयता अनुसार तल्लो तहसम्म व्यवस्थित तरिकाले पार्टीलाई लैजानको लागि यो महासमितिको बैठक नगरी नहुने थियो । यो समयले मागेको विषय पनि हो । अहिले ढिलो गरेमा पछि पार्टीले ठूलो घाटा बेहोर्नुपर्ने अवस्था आउन सक्थ्यो, समयमै गरेर एकदमै राम्रो गरेको छ । हामी प्रतिपक्षका भूमिकामा छौं, त्यसको आत्मसमिक्षा गरिनुपर्छ भन्ने मलाई लाग्छ । 

अर्काको कमजोरीलाई औंल्याएर अगाडि बढौंला भन्दा पनि पार्टीलाई कसरी मान्छेको मन मुटुमा उतार्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्नेछ । बुढो पुस्ता र युवा पुस्ताको वैचारिक फ्युजन गराएर कसरी  पार्टीलाई समयानुकुल बनाउन सकिन्छ त्यसमा ध्यान दिनुपर्नेछ । नयाँ निर्वाचनको लागि आफ्नो आधार खडा गर्ने भएकाले अहिलेको महासमितिको बैठक महत्वपूर्ण छ । 

वासुलाल महता, धनुषा ७

आफनै पार्टीको टिकट लिएको मान्छेलाई हराउँछ, सबै कांग्रेसीहरुले फोरममा भोट हाले । त्यही भएर मैले स्थानीय तहको निर्वाचनमा हारें । यसको मत्लब पार्टीभित्र नै विभेद र गुट छन् । यसले पार्टीलाई असहाय बनाएको छ । 

पार्टी सुधार भएर गयो भने, केन्द्र तहबाट नै मिलेर गयो भने पार्टी रहन्छ । हैनभने पार्टी धरासायी हुने अवस्थामा छ । यस महासमितिको बैठकबाट अपेक्षा भनेकै पार्टीगत गुटको अन्त्य र एकजुट भई नयाँ प्रक्रियाबाट पार्टी सञ्चालन हो । 

कार्यकर्ताहरुबाट नै एकदमै सक्रिय भएर लाग्नुपर्ने भएको छ । महंगी बढेको छ, विकास निर्माणका कार्यहरुमा भ्रष्ट्राचारको सीमा नै छैन । यस्तो अवस्थामा प्रतिपक्षको रुपमा बसेर कांग्रेस पार्टीले निगरानी गर्नुपर्ने भएको छ । त्यसको लागि पनि यो महासमितिको बैठक अनिवार्य भएको छ । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया