अमेरिकी सिनेटको मतदानप्रति साउदी अरेबिया आक्रोशित

 पुस २, २०७५ सोमबार १५:४०:१५ | रासस
unn.prixa.net

अमेरिकी सैनिक सहायता रोक्ने अमेरिकी सिनेटको प्रस्तावलाई आफ्नो देशमाथिको ‘हस्तक्षेप’ भन्दै साउदी अरेबियाले त्यसलाई अस्वीकार गरेको छ । अमेरिकी सिनेटले यमनमा साउदी अरब समर्थित गठबन्धनले जारी राखेको हवाई आक्रमणमा अमेरिकी हातहतियारको प्रयोग रोक्न चाहेको छ । 

साथै, सिनेटले पत्रकार जमाल खशोग्गको हत्यामा साउदी राजकुमारलाई जिम्मेवार ठहर्‍याएको छ । ‘साउदी अरब अमेरिकी सिनेटको पछिल्लो दृष्टिकोणको निन्दा गर्दछ किनभने सिनेटका आरोपहरु अपुष्ट छन् । त्यसैले साउदी अरब आन्तरिक मामिलामा भएको अमेरिकी ठाडो हस्तक्षेपलाई अस्वीकार गर्दछ’, साउदी विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । 

अमेरिकी सिनेटको मतदानले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि नयाँ चेतावनी दिएको छ । राष्ट्रपति ट्रम्पले यमनको द्वन्द्वमा अमेरिकी हतियारको व्यापक प्रयोग भएको तथा पत्रकार खशोग्गीको हत्याका बारेमा विश्वव्यापी आलोचना भइरहेको साउदी अरेबियाको शासन सत्तालाई समर्थन गरिरहेका छन् । 

यमनको गृहयुद्धमा अमेरिकी समर्थन त्याग्नुपर्ने पक्षमा ४९ जना सिनेटरले मतदान गरेका थिए ।  मतदानमा डेमोक्राट र उनीहरुका विचारमा समर्थन जनाउने सात जना रिपब्लिकन सिनेटर सहभागी भएका थिए । राष्ट्रपति ट्रम्पको पार्टी रिपब्लिकनका अरु तीन जना सिनेटर मतदानमा उपस्थित भएनन् । 

सिनेटले पत्रकार खशोग्गीको हत्यासम्बन्धी निन्दा प्रस्ताव पनि पारित गरेको छ । सिनेटले साउदी अरेबियाका मुख्य शासक राजकुमार मोहम्मद बिन सल्मान नै यसमा जिम्मेवार ठहर्‍याएको छ । 

साउदी विदेश मन्त्रालयले राजपरिवारमाथि हुने कुनै पनि किसिमको ‘अपमान’ सह्य नहुने बताएको छ,  ‘अमेरिकी सिनेटको यो कदमले साउदी–अमेरिकी सम्बन्धमा दरार ल्याउन खोज्ने सबैलाई मद्दत गरेको छ ।’ 

सिनेटको प्रस्तावमाथि जनवरीअघि हाउस अफ रिप्रिजेन्टेटिभमा छलफल हुने छैन । राष्ट्रपति ट्रम्पले विशेषाधिकारको प्रयोग गर्ने सम्भावना छ । तर सिनेटको मतदानले ह्वाइट हाउसमा रियादका बारेमा भिन्न दृष्टिकोण अबलम्बन गर्नेतर्फ सोच्न बाध्य बनाउनेछ । 

अमेरिकी अखबार वसिङ्टन पोस्टका लागि नियमित स्तम्भकार जमाल खशोग्गीको टर्कीको इस्तानबुलस्थित साउदी महाबवणिज्यदूतावास कार्यालयमा प्रवेश गरेलगत्तै गएको अक्टोबर २ मा हत्या भएको थियो । 

यमनमा जारी गृहयुद्ध र साउदी गठबन्धन नेतृत्वमा भएको हवाई आक्रमणले भएको जनधनप्रति अमेरिकी कंग्रेसमा छलफल सुरु भएको छ । 

सन् २०१५ यता साउदी गठबन्धनको आक्रमणबाट १० हजारभन्दा बढीको यमेनीको ज्यान गइसकेको छ । अधिकारकर्मीले यो संख्या अझ बढी रहेको बताएका छन् ।
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया