यूएईले हुर्काएका नेपाली गजलकार पीएस लिम्बू भन्छन् : बाध्यताले परदेश लखेट्यो, भावनाले गजलकार बनायो

 पुस २, २०७५ सोमबार १९:३०:४८ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – ‘आफ्नै बाध्यताले परदेश लखेटिएर म खाडी छिरेको हूँ’, निर्धक्क हुँदै पीएस लिम्बूले भने । त्यसो त यो नाम यूएईको नेपाली साहित्यमा परिचित नाम हो । युवा गजलकारका रुपमा चिनिएका लिम्बू उमेरले डाँडो उक्लदै गरेको भए पनि जवान देखिन्छ । यूएईमा बसेर नेपाली साहित्यमा कलम चलाउनेमध्येका एउता पुरानो पात्र हुन् लिम्बू ।  

‘नेपालमा हुँदा साहित्य सभा, गोष्ठी तथा कार्यक्रममा सहभागी हुन्थे । प्राध्यापन पेशा छोडेपछि साहित्यमा झुकाव बढ्न थाल्यो । परदेश छिरेपछि गीत र गजल लेखनमा सक्रिय भएँ । धरानबाट प्रकाशित ब्लाष्ट दैनिकमा मेरो पहिलो सिर्जना प्रकाशित भयो’, लिम्बूले भने । 

बाल्यकाल र परदेश यात्रा 

२०२८ सालमा तेह्रथुमको म्याङलुङ –९, मा जन्मिएका लिम्बू धरान उपहमानगरपालिका –१८, सुनसरीका स्थायी बासिन्दा हुन् । सानै उमेरमा आमा गुमाएपछि मावली घरमा बसेर माध्यमिक तहको अध्ययन पूरा गरेका लिम्बू भन्छन्, ‘लाहुरे बन्ने इच्छाले भारतसम्म पुरायो । तर उमेर नपुगेकाले लाहुरे बन्ने इच्छा पूरा भएन । भारतमै बसेरै उच्च माध्यमिक तहको अध्ययन सक्काएँ ।’

लिम्बू नेपाल फर्किएर एक दशकभन्दा बढी समय प्राध्यापन पेशामा संलग्न भए । वि.सं. २०५२ सालमा व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा भयो । भारतमा रहँदा दार्जीलिङका नेपालीभाषी साहित्यकार तथा गीतकारसँग नजिक भए लिम्बू । सुवास घिसिङ, दौलतविक्रम विष्ट, जगजीत सिहंका गजलले लिम्बूको लेखनमा प्रभाव पार्यो ।

व्यावसायिक क्षेत्रमा केही आर्थिक बोझ थपिँदै गएपछि परदेश कहिल्यै जाँदिन भन्ने अडानमा बसेका लिम्बूलाई प्राध्यापन छोडेर विदेशलाई कर्मभूमि बनाउने बाध्यता आइपर्यो । २०५४  सालमा लिम्बू साउदी गए । दुई वर्षपछि साउदीबाट नेपाल फर्किए ।  तर परदेशले मोहनी लगाइसकेको रहेछ, उनी नेपालमा टिक्नै सकेनन् ।

सन् २००३ मा लिम्बू पुनः वैदेशिक रोजगारीका लागि यूएई आए । यहाँ आएपछि साहित्यमा झनै सक्रिय भए । यूएईमा प्रकाश थाम्सुहाङसँग भेट भयो । त्यसबेला यहाँ नेपाली साहित्यका संस्था संगठित अवस्थामा थिएनन् । दलवीर सिंह बराइलीको अध्यक्षतामा नेपाली साहित्य परिषद यूएईको गठन भयो । त्यही संस्था यूएईमा नेपाली साहित्यको पहिलो संस्था हो । लिम्बू त्यसको संस्थापक महासचिवका रुपमा रहे ।

यूएईमा नेपाली साहित्यले स्थान बनाउँदै गयो । साहित्यप्रति झुकाव राख्ने नेपाली बढेसँगै विभिन्न साहित्यिक संस्था पनि गठन भए तर सबै संस्था एकीकृत थिएनन् । निश्चल पीएस, मोहम्बद जाकिर हुसैन –पूर्व राज्यमन्त्री), दलवीर सिंह र खेमनाथ पौडेल (बन्दिपुरे माइला) को पहलमा सबैलाई अन्तर्राष्ट्रिय साहित्य परिषद यूएईमा समाहित गरियो । संस्थामा आवद्ध भएका तथा समकालीन कतिपय व्यक्ति अहिले नेपालमा राजनीति तथा साहित्यमा सक्रिय छन् । 

यूएईबाट प्रकाशित नेपाली भाषाको पहिलो साहित्यिक भित्तेपत्रिका ‘आकृति’मा उनका रचना प्रकाशित हुन्थे । ‘आकृति’ भित्तेपत्रिका सन् २००७ देखि प्रकाशन बन्द भयो । दुबईमा चलेको भित्ते पत्रिका बन्द भए पनि लिम्बूले भने रचना गर्न छोडेनन् । उनले पहिलो गजल संग्रह ‘सिसिफस जीवन’ प्रकाशन गरे । यो संग्रह उनले साउदी बस्दा नै रचेका थिए । यूएई आएपछि प्रकाशनका लागि तयार पारेर प्रकाशन गरेका हुन् ।

दोस्रो नेपाली अडियो गजल एल्बम ‘पद्मिनी’हो। यसमा ६ वटा गजल गीत समावेश छ । अञ्जु पन्त, स्वरुपराज आचार्य, दीपक लिम्बू, ताराप्रकाश लिम्बूलगायतको स्वर तथा हरि लम्साल, महेश खड्का, गैरे सुरेशलगायतको संगीत भरिएको गजल एल्बमले नेपाली डायसपोरा साहित्यमा अमिट छाप राखेको छ ।  त्यो एल्बम केही समयअघि राजधानीमा सार्वजनिक गरिएको हो । 

लिम्बूका  ‘म मृत्यु हुँ’ कविता संग्रह र ‘पद्मिनी’उपन्यास प्रकाशोन्मुख कृति हुन् ।

सामाजिक तथा साहित्यिक संस्थामा भूमिका 

साहित्य सिर्जना अलवा समाजसेवामा पनि चिनिएका लिम्बूले करिब दर्जन सामाजिक तथा साहित्यिक संस्थाको नेतृत्वसमेत गरिसकेका छन् । यूएईको पहिलो साहित्यिक संस्था नेपाली साहित्य परिषद यूएईको संस्थापक महासचिवको जिम्मेवारीका रुपमा काम गरेका उनले प्रवासी नेपाली समाज साउदी अरब, तीनजुरे असहाय बाल तथा वृद्धाश्रम सेवा सुनसरी, नेपाल यूएई साहित्य परिषद यूएईमा महासचिवको भूमिका निभाएका छन् । 

प्रवासी लिम्बू समुदाय (प्रलिस) यूएईका संस्थापक अध्यक्ष,नेपाल आदिवासी जनजाति महासंघ यूएईको संस्थापक उपाध्यक्ष, किराँत याक्थुङ चुम्लुङ यूएई (प्रलिस कियाचु एकीकरणपछि (सन् २००८–२०१५) सम्म अध्यक्ष, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएई (सन् २००९) को अध्यक्ष  तथा गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (सन् २००९–२०११) केन्द्रीय सदस्यको जिम्मेवारीसमेत उनले निर्वाह गरिसकेका छन् । 

सन् २०१० पछि यूएई आएका साहित्यकारहरु दोस्रो पुस्ताका रुपमा चिनिन्छन् । यहाँबाट नेपाली साहित्यलाई अघि बढाउन दुवै पुस्ताले खेलेको भूमिका महत्वपूर्ण रहेको निश्चल पीएसको बुझाई छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया