प्रहरी हिरासतमै आमरण अनसन

 पुस ३, २०७५ मंगलबार १४:७:४४ | जयनारायण यादव

बारा – कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको आरोपमा तीन दिनअघि पक्राउ परेका बाराका दुई जना नेता प्रहरी हिरासतमै आमरण अनसन सुरु गरेका छन् ।

पचरौता नगरपालिका घर भएका नेता प्रभुनाथ पटेल र जलन्धर सिंह मंगलबारदेखि जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा आमरण अनसनमा बसेका हुन । प्रहरीले आफूहरुलाई झूटो मुद्दामा फसाउन खोजेकोले त्यसको विरोध गर्दै आमरन अनसन सुरु गरेको सिंह र पटेलले बताएका छन् ।

नगरस्तरीय अस्पताल निर्माण गर्ने स्थानको विषयलाई लिएर गएको कात्तिक ५ गते नगरपालिका अन्तर्गतको बेल्दारी र पचरौता पिपरपाती टोलका स्थानीयबीच झडप हुँदा दुई दर्जन बढी घाइते भएका थिए ।

झडपमा संलग्न रहेको आरोपमा प्रहरीले पटेल र सिंहलाई मंसिर २९ गते पक्राउ गरेको थियो । पक्राउ परेका पटेल कलैयास्थित रामराजा  मा.वि. शाह बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष हुन् भने सिंह गएको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादीबाट पचरौता नगरपालिकाको प्रमुखमा उम्मेदवार बनेका थिए ।

यसैबीच प्रहरीले मंगलबार दोश्रो पटक अदालतबाट थप चार दिनको म्याद थप गराई सिंह र पटेलमाथिको अनुसन्धान जारी राखेको छ ।

यसअघि तीन दिनको म्याद थप गरिएकोमा अनुसन्धान बाँकी रहेको कारण देखाई प्रहरीले १० दिनको म्याद थप गर्न माग गरेकोमा चार दिनको म्याद थप गरिएको जिल्ला अदालतका श्रेस्तेदार  कोश्लेश्वर ज्ञवालीले बताउनुभयो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया