संस्कृत श्लोक कण्ठ गर्न नसकेको भन्दै बालकमाथि कुटपिट, बालकको खुट्टा भाँचियो

 पुस ३, २०७५ मंगलबार १८:१३:३३ | अमर सुनार
unn.prixa.net

पीडित बालक

दैलेख – दुल्लू नगरपालिकाले नाभिस्थानमा सञ्चालन गरेको पञ्चकोशी बेदविद्याश्रम गुरुकुल विद्यापीठमा शिक्षकले १३ वर्षीय बालक सुरेन्द्र हमाललाई कुट्दा हमालको देबे्र खुट्टा भाँचिएको छ ।

हिन्दु धर्म संस्कार, शास्त्रीय कर्मकाण्डबारे अध्यापन गराइने गुरुकुल विद्यापीठमा दिइएको पाठ कण्ठ गर्न नसकेको भनेर शिक्षक खगेन्द्र बजगाईंले गरेको कुटपिटका कारण बालकको खुट्टा भाँचिएको प्रत्यक्षदर्शी बालकले जानकारी दिनुभयो ।

संस्कृत श्लोक कण्ठ गर्न नसकेको भनेर मंसिर २६ गते बेदको छडीले मरणासन्न हुने गरी शिक्षक बजगाईंले कुटेको र उपचार गर्न पनि जान नदिएको पीडित हालले बताउनुभएको छ । हमाल सोमबार मात्र त्यहाँ पढ्ने बालक नवराज खनालको सहयोगमा भागेर दुल्लू अस्पताल पुगेपछि मात्र घटना सार्वजनिक भएको हो ।

दुल्लू अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्जको वेष्टर्न अस्पतालमा भर्ना गरिएको छ । आरोपित शिक्षकले अस्पताल प्रशासनसँग मिलेर उहाँको स्वास्थ्यमा ‘खास समस्या केही छैन’ भन्न लगाएको पीडित पक्षको आरोप छ ।

त्यहाँ सिकाउने नाममा दिनहुँ जसो कुटपिट गर्ने, तुच्छ शब्दले गाली गलौज गर्ने र अपशब्द बोल्ने शिक्षकहरुको दुव्र्यवहारका कारण आजित भएका त्यहाँ पढ्ने ६ जना बालकहरुले सुरेन्द्रको खुट्टा भाँचिएको पाँचौं दिन एकै साथ गुरुकुल विद्यापीठ छोडेका छन् ।

दुल्लू नगरपालिकाको ४ लाख अनुदान रकमबाट तलब भत्ता खाने गरी नियुक्त गरिएका प्रधानाध्यापक बजगाईं र अर्का शिक्षक दिपक पाण्डे दुवै जना घाइते बच्चाको उपचार गराउने नाममा नेपालगञ्ज पुगेका छन् ।

सोमबार यो घटना सार्वजनिक भएपछि पञ्चकोशी बेदविद्याश्रम गुरुकुल विद्यापीठ व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद उपाध्याय र सदस्य सचिव श्रोत व्यक्ति शिबराज खड्का समेतको उपस्थितिमा पीडित पक्षलाई उजूरी नगर्न आग्रह गरेको जानकारी प्राप्त भएको छ ।

श्रोत व्यक्ति खड्कासँग घटनाबारे जानकारी लिन सम्पर्क गर्दा उहाँले प्रतिक्रिया दिन चाहनुभएन । त्यहाँ पढ्न चाहनेहरुलाई आवासिय व्यवस्था मिलाइएको भए पनि गुरुकुल विद्यापीठ सञ्चालन भएको दुई वर्ष अवधिमा दलितहरुलाई भर्ना नदिइएको दलित सेवा संघका केन्द्रीय सदस्य सूर्यबहादुर बिकले टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘भर्ना नलिनु पनि विभेद हो ।’

सुरेन्द्र हमाल कुटिएको विषयमा मुद्दा दिन पीडित पक्षलाई पञ्चकोशी बेदविद्याश्रम व्यवस्थापन समितिले रोकेको विषयमा सोध्दा अध्यक्ष कृष्णप्रसाद उपाध्यायले उपचार गरेर फर्किएपछि पनि ९० दिनभित्र उजूरी गर्न सकिने म्याद हुनेभएकाले त्यस्तो सल्लाह दिइएको स्वीकार गर्नुभयो । 

 
 

अन्तिम अपडेट: चैत १४, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया