‘सीएमसीले हात झिकेकै अवस्थामा पनि मेलम्ची खानेपानी आयोजनाको काम समयमै सकिन्छ’

 पुस ३, २०७५ मंगलबार १८:३५:२८ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडौं – खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको निर्माण समयमै सम्पन्न हुने स्पष्ट पारेको छ । 

ठेकेदार सीएमसी कम्पनी टाट पल्टेको र आयोजनाबाट हात झिक्न लागेको समाचार सार्वजनिक भएपछि मन्त्रालयले निर्धारित कार्यतालिका प्रभावित नहुने गरी समयमै आयोजना सम्पन्न गर्न विभिन्न विकल्पमा छलफल गरिरहेको बताएको छ । 

खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरद्वारा जारी प्रेस विज्ञप्तिमा अहिलेकै ठेकेदार कम्पनी सीएमसीबाट आयोजनाको निर्माण कार्य सम्पन्न गर्न सकिने अवस्थाका बारेमा पनि मन्त्रालय र मेलम्ची आयोजनाले विभिन्न विकल्पमा परामर्श गरिरहेको जनाइएको छ । 

त्यस्तै सीएमसी कम्पनीले काम नगर्ने अवस्थामा समेत आयोजनाको कार्यतालिका प्रभावित नहुने गरी काम अगाडि बढ्ने मन्त्रालयले जनाएको छ । सीएमसीले हात झिकेको अवस्थामा मन्त्रालयले फास्ट ट्रयाक विधिमार्फत अन्य कुनै कम्पनीलाई काम दिएर भए पनि मेलम्ची खानेपानी आयोजनाको काम समयमै सम्पन्न गर्ने स्पष्ट पारेको छ । 

मेलम्ची खानेपाली आयोजनाको निर्माणका लागि २०६५ सालमा सीआरसीसी नामक चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । तर २०६९ असोज ९ गते सीआरसीसीसँग सम्झौता भङ्ग भएको थियो । त्यसपछि मेलम्ची खानेपानी विकास समितिले इटालीको सीएमसी कम्पनीसँग २०७० साल असार ३१ गते दोस्रो निर्माण सम्झौता गरेको थियो । मेलम्ची विकास समिति र सीएमसी कम्पनीबीच ७ अर्ब ७२ करोड ३४ लाख ७१ हजार ३ सय ४२ नेपाली रुपैयाँमा प्रारम्भिक निर्माण सम्झौता भएको थियो । सम्झौता भएको ३६ महिनामै आयोजना निर्माण गरिसक्ने सम्झौता भए पनि भूकम्प र नाकाबन्दीका कारण आयोजना निर्माणमा ढिलाई भएको थियो ।

खानेपानी आयोजनाको सुरुङको फिनिसिङलगायतका केही काम मात्र बाँकी भएको अवस्थामा आफूले काम गर्न नसक्ने बताउँदै सीएमसी कम्पनीले हात झिक्न खोजेको छ । सीएमसीले आफूलाई झण्डै एक अर्ब रुपैयाँ घाटा भएको भन्दै समयमै क्षतिपूर्ति रकम पाए मात्र काम गर्ने बताएको छ । सीएमसीले सम्झाैताअनुसार अबकाे डेढ महिनाभित्र अायाेजनाकाे काम सक्नुपर्नेछ ।

आयोजनाको काम अन्तिम चरणमा पुगेका बेला ठेकेदार कम्पनीका प्रमुख म्यानेजर क्रिस्टियानो ग्रेलगायतको टोली बिना अनुमति आयोजना स्थलबाट भागेर नेपाल छोड्न लागेका थिए । त्यसपछि उनीहरुका बारेमा बुझ्न खानेपानी मन्त्रालयले गृह मन्त्रालयलाई आग्रह गरेको थियो ।

खानेपानी मन्त्रालयको अनुरोधपछि गृहले अध्यागमन विभागलाई उनीहरुमाथि निगरानी गर्न निर्देशन दिएको थियो । उनीहरु अहिले अध्यागमन विभागको निगरानीमा रहेका छन् ।

मन्त्रालयकाे विज्ञप्ति

अन्तिम अपडेट: बैशाख ९, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया