आन्दोलनले सुदूरपश्चिम विश्वविद्यालयको पढाई प्रभावितः विद्यार्थीले मागे क्याम्पस प्रमुखको राजीनामा

 पुस ४, २०७५ बुधबार १२:८:१९ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा कर्मचारी भर्नाका विषयमा असन्तुष्टि जनाउदै विद्यार्थी संगठनहरु आन्दोलित भएपछि पठनपाठन ठप्प भएको छ । क्याम्पस प्रमुख भूपेन्द्र विष्टसहित प्राध्यापक संगठनका कर्मचारीले आपसी भागबण्डाका आधारमा कर्मचारी भर्ना गरेको भन्दै चार विद्यार्थी संगठन आन्दोलित भएका हुन् । 

गएको आइतबारबाट आन्दोलनमा उत्रिएका चार विद्यार्थी संगठन र इन्टिग्रेटी फोरमले बुधबार र्‍याली निकाल्दै क्याम्पस प्रमुखको राजीनामा माग गरेका छन् । 

क्याम्पस प्रमुख भूपेन्द्र विष्टले क्याम्पसलाई आफ्ना सिपाही भर्ती केन्द्र बनाएकाले आफूहरु आन्दोलनमा उत्रिएको इन्टिग्रेटी फोरमका अध्यक्ष चन्द्रदेव बडुले बताउनुभयो । उहाँले क्याम्पस प्रमुखले गरेको उक्त निणर्य खारेज नभए आफूहरु अझै सशक्त तरिकाले आन्दोलनमा जाने बताउनुभयो । 

संयुक्त विद्यार्थी संगठनको तालाबन्दीकाबीच क्याम्पस प्रमुखसहित केही कर्मचारीले अवैधानिक तरिकाले गरेको कर्मचारी भर्ना खारेज हुनु पर्ने अर्का विद्यार्थी नेता गणेश मिश्राले बताउनुभयो । उहाँले निर्णय नसच्याइए आफूहरु सडकमै उत्रिन बाध्य हुने बताउनुभयो । ‘अहिलेसम्म हामी शान्तीपूर्ण तरिकाले आन्दोलनमा उत्रिएका छौँ’, उहाँले भन्नुभयो ‘यो निर्णय खारे नहुने हो र क्याम्पस प्रमुखले राजीनामा नदिने हो भने हामी सडकमै उत्रिन बाध्य हुने छौं ।’

इन्टिग्रेटी फोरमले कर्मचारी नियुक्ती खारेजीको माग गर्दै धर्ना र अनसनको कार्यक्रमलाई निरन्तरता दिएको छ । विद्यार्थीहरुको आन्दोलनका कारण सुदूरपश्चिम विश्वविद्यालयको पढाईसमेत प्रभावित भएको छ । विद्यार्थीहरुले भागबण्डाका आधारमा गरिएको कर्मचारी नियुक्ती खारेजीको मागसमेत गरेका छन् ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया