अर्थतन्त्र सुधार गर्न मेक्सिकोका राष्ट्रपतिले राज्यकोषमा फिर्ता गरे आफ्नो एक तिहाई तलब

 पुस ४, २०७५ बुधबार १५:२३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरले आफ्नो तलबको एक तिहाई रकम राज्यकोषमा फिर्ता गर्नुभएको छ ।

उहाँले यही डिसेम्बर १ तारिखबाट लागू हुनेगरी राज्यकोषबाट आफूले प्राप्त गर्ने तलबको एक तिहाई फिर्ता गर्न थाल्नुभएको हो । उहाँले अघिल्लो दुई हप्ताको २९ प्रतिशत तलब फिर्ता गर्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

एक पत्रकार सम्मेलनमा उहाँले अब आफ्नो मासिक तलब पाँच हजार ३ सय ७३ डलर पुगेको र त्यसलाई मितव्ययी भई सदुपयोग गर्ने योजना बनाएको जानकारी दिनुभयो । ‘मैले फिर्ता गर्ने भनेको रकम राज्यकोषमा फिर्ता गरिसकेको छु’, लोपेजले पत्रकारहरुसँग भन्नुभयो ।

उहाँले सर्वोच्च अदालतका न्यायाधीशसहित सार्वजनिक सेवामा रहेका अन्य उच्च पदाधिकारीलाई पनि आफ्नो तलब सामाजिक सेवामा लगाउन आह्वान गर्नुभएको छ । मेक्सिकोमा सन् २०१६ मा त्यहाँको कूल ग्राहस्थ उत्पादन ४८.२ प्रतिशत देशकै ऋण रहेको थियो ।

सन् २०१७ मा ऋण प्रतिशत ४५.४ मा पुगेको थियो । देशको ऋण अत्याधिक धेरै भएका कारण आर्थिक सुधार गर्न  त्यहाँका राष्ट्रपतिले नै आफ्नो पारिश्रमिकको तीन भागको एक भाग राज्य कोषमा जम्मा गर्ने योजना बनाउनुभएको हो ।

राष्ट्रपतिले देशका उच्च तहका कर्मचारी, न्यायाधीशलगायतलाई पनि आफ्नो पारिश्रमिकको केही भाग राज्य कोषमा जम्मा गर्न अनुरोध गर्नुभएको छ । उहाँले देशको अर्थतन्त्रको सुधार गर्न तथा तल्लो तहका कर्मचारीको पारिश्रमिकका सुधार ल्याउन त्यस्तो योजना थाल्नुभएको हो । कतिपय विश्लेषकले भने पारिश्रमिकबापत आएको पैसा कट्टा गर्नु देशकै आम्दानी कट्टा गर्नुभएको बताएका छन् ।

त्यहाँका राष्ट्रपतिको मासिक पारिश्रमिक पाँच हजार तीनसय ७३ डलर रहेको छ । उहाँले आफ्नो पारिश्रमिकको तीन भागको एक भाग राज्य कोषमा जम्मा गरेपछि आफ्नो पारिश्रमिक तीन हजार सात सय डलर हाराहारी हुन आउँछ । अन्य पैसा राज्य कोषमा जान्छ । मेक्सीकोले अर्को वर्षदेखि न्यूनतम पारिश्रमिकमा ठूलो परिवर्तन ल्याउने योजना बनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया