वडाध्यक्षकै सिफारिसमा पुरै दलित बस्ती बिक्री !

 पुस ४, २०७५ बुधबार १९:२९:४६ | आशिष विश्वकर्मा

सिरहा –  मिर्चैया नगरपालिका –७, फूलबरियको महराटोलमा तीन पुस्तादेखि बस्दै आएको दलित बस्तीको जमिन वडा कार्यालयले दिएको गलत सिफारिसका कारण बिक्री भएको छ ।

जग्गा धनीलाई पैसा तिरेर झण्डै ९० वर्षदेखि वस्दै आएको दलित बस्तीको जमिन वडा नं. ७ का वडा अध्यक्ष रामकुमार यादवले जग्गामा घर नभएको भन्ने सिफारिस दिएको आधारमा जग्गा व्यवसायीले खरिद गरेका छन् । 

बस्ती भएको जमिन बिक्री भएको खबर पाएपछि बस्तीका दलितहरुको भोक प्यास हराएको छ । उनीहरु कहिले वडा कार्यालय, कहिले नगरपालिका कार्यालय, कहिले मालपोत त कहिले अधिकारकर्मीकोमा धाइरहेका छन् । सम्पत्तिको नाममा रहेको त्यही बस्ने थातथलो पनि गुम्ने त्रासमा रहेका छन् उनीहरु । जमिन बिक्री भएको खबर पाएपछि यहाँ रहेका २८ घर परिवार छटपटीमा परेका छन् ।

आफ्नो बुवाले नै पैसा तिरेको भए पनि साहुले जमिन पास नगरेपछि तीन पुस्तादेखि आफूहरु बस्दै आएको जमिन अरुले पास गरेको खबरले ६५ वर्षीय घुरन महरा चिन्तित बन्नुभएको छ । उहाँले भन्नुभयो, ‘जग्गाधनीलाई बुवाले जग्गाको दाम दिए पनि आजभोलि भन्दाभन्दै पास गरिदिएनन्, अहिले उनका नातीहरुले हामीलाई सूचना नै नगरी बस्ती भएको जमिन बिक्री गरेका छन्, जमिन बिक्रीको खबरपछि हाम्रो भोक प्यास नै हराएको छ ।’ 

दलित बस्तीकै ५५ वर्षीय विसुनियाँ महराका बुवाले नै कल्याणपुर जब्दी ८ का जग्गाधनी हजारी साहु भन्ने रामचन्द्र साहलाई पैसा बुझाएको बताउनुभयो । ‘साहलाई जमिनको मूल्य तिरेको भए पनि उहाँले तिमीहरुलाई बस्न दिएकै छु, कुनै दिन पास गरिदिउँला नि भन्दै टार्दाटार्दै उनको मृत्यु भयो, आज उनका नातीहरुले हामीलाई पत्तै नदिई जमिन बेचेछन्’, विसुनियाले थप्नुभयो, ‘हामी गरिब दलितलाई उठिवास लगाउने नियतले जमिन बेचेको हो, यसमा वडा अध्यक्षले पनि बदमासी गरेछन् ।’ 

जमिन बिक्री भएपछि घुरन र विसुनियाँमात्र होइन, महरा बस्तीका २८ घर परिवार चिन्तित भएका छन् । दलित बस्तीमा वस्नेहरुको बस्ने घरबाहेक अरु जग्गाजमिन केही छैन ।

रामचन्द्रको मृत्युपछि पनि आफूहरुले उनका छोरालाई आफ्नो नाममा जग्गा पास गरिदिन आग्रह गर्दै आएको महरा बस्तीका अगुवा बताउँछन् । रामचन्द्रका छोराले पनि आजभोलि गर्दै जमिन पास गरिदिएनन् ।

महरा बस्तीका कसैलाई थाहै नदिई उनका नातीहरु श्रवणकुमार साह, दिपनारायण साह, सत्यनारायण साह, रामेश्वर साहलगायतले गएको मंसिर ९ गते धनुषाको सवैला नगरपालिका–१२, रघुनाथपुरका जग्गा व्यवसायी सुरेशकुमार महतोलाई दलित बस्ती रहेको ६ कठ्ठा जमिन बिक्री गरेका हुन् । 

यता वडाध्यक्ष रामकुमार यादवले आफू जहिले पनि दलितहरुकै पक्षमा रहेको भन्दै आफूसँग सिफारिस गरेको जमिनमा दलित बस्ती भएको जानकारी नभएकोले सिफारिस दिएको बताउनुभयो । उहाँले आफूबाट गल्ती भएको भन्दै अब बस्तीको जमिन फर्काउन आफूले सक्ने सबै खालको सहयोग गर्न तयार रहेको पनि सुनाउनुभयो । दलित बस्तीमा विद्युत, पानी र बाटोहरु भए पनि वडा कार्यालयले बाटो नभएको र घर नभएको सिफारिस दिएको छ । 

स्थानीय वासिन्दाहरुले वडाध्यक्ष यादवले जग्गा व्यवसायीको प्रभावमा परेर सिफारिस दिएको आरोप लगाउँदै आएका छन् । उनीहरुले वडा कार्यालय अगाडिकै दलित बस्तीको जमिनमा घर नरहेको सिफारिस दिनु अचम्म भएको पनि बताएका छन् ।
 

अन्तिम अपडेट: चैत ९, २०८०

आशिष विश्वकर्मा

आशिष विश्वकर्मा सिरहाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया