भैरहवालाई पाखा लगाउँदै ललितपुरले जित्याे ईपीएलकाे उपाधि

 पुस ७, २०७५ शनिबार १६:३३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलको उपाधि ललितपुरले जितेको छ ।

टियू क्रिकेट मैदान कीर्तिपुरमा आज भएको फाइनलमा भैरहवा ग्लाडियटर्सलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । 

पहिलो खेलमा विराटनगर वारियर्ससँग पराजित भएको भैरहवाले बाँकी खेलमा अपराजित रहँदै उपाधि जित्न सफल भयो । 

टस हारेर पहिला ब्याटिङ गरको ललितपुरले १९.१ ओभरमा १५५ रन बनाएको थियो । ललितपुरका लागि जयकिशन कोल्सावालाले अर्धशतकीय पारि खेल्दै टिमलाई सम्मानजनक स्कोरमा पुराउन मद्दत गरेका थिए । 

कोल्सावालाले ४७ बलमा अर्धशतक बनाउँदा २ चौका र ३ छक्का प्रहार गरेका थिए । एक छेउबाट लगातार विकेट गुमे पनि अर्को छेउमा कोल्सावालाले ललितपुरको पारी अगाडि बढाएका थिए । 

उनले आफ्नो पारीमा ३ छक्का र ३ चौकाको मद्दतले  ५७ रन जोडेका थिए ।

ओपनिङ गर्न आएका जयकिशन कोल्सावाला र गौरब तोमारले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए । 

तोमार १९ बल खेल्दै २३ रन बनाएर रायन टेन डोट्स्चेको बलमा आउट भएका थिए । रविइन्दर सिंहको हातबाट क्याच आउट भएका तोमरले आफ्नो इनिङमा ३ चौका र १ छक्का प्रहार गरेका थिए । 

तोमार आउट भएपछि मैदानमा आएका ललितपुरका कप्तान ज्ञानेन्द्र मल्ल धेरै बेर टिक्न सकेनन् । उनले ७ बलमा दश रन बनाउँदा १ छक्का प्रहार गरे । ज्ञानेन्द्र भैरहवाका कप्तान शरद भेषावकरको बलिङमा कुशल मल्लको हातबाट क्याच आउट भएका थिए ।

ज्ञानेन्द्र पछि मैदान आएका पवन सर्राफ दुर्भाग्यबस रन आउट भए । ननस्ट्राइकमा रहेका पवन अभिनास बोहराले बलिङ गरेको बलमा बलरको हातमा लागेर स्टम्प ढलेको थियो । पवनले ९ बल फेस गरेका थिए । सर्राफ आउट भएपछि मैदान आएका सन्दिप जोराले आक्रामक पारी खेले । 

जम्मा ११ बल फेस गरेका सन्दिपले १ चौका र २ छक्काको मद्दतले २४ रन बनाउँदै पेभेलियन फर्किए । भुवन कार्कीको बलिङमा अभिनास बोहराले क्याच गर्दै पेभेलियनको बाटो देखाएका थिए ।

त्यसपछि सन्नि पटेल १ रनमै आउट भएका थिए । कुशल भुर्तेल र कोल्सावालले १८ रनको साझेदारी गर्दै १४५ रन बनाउँदा भुर्तेल छैटौं विकेटको रुपमा आउट भए । 

भुर्तेलले ७ बलमा ११ रन बनाउँदा २ चौका प्रहार गरेका थिए । त्यसलगत्तै कोल्सावाला ५७ रन बनाउँदै कृष्ण कार्कीको बलमा बोल्ड भएका थिए । 

कोल्सावाल आउट भएपछि  क्रिजमा आएका सोनु तामाङ २ रनमा आउट हुँदा टिमको स्कोर ८ विकेटको नोक्सानीमा १५२ रन पुगेको थियो । योगेन्द्रसिंह कार्की र रासिद खानले नवौं विकेटका २ रन थप गर्दा खान खातानै नखोली आउट भएका थिए ।

योगेन्द्र कार्की व्यक्तिगत ३ रनमा आउट भएपछि ललितपुरको पारि समाप्त भएको थियो । राम्रो सुरुआत गरेको ललितपुरले अन्तिममा १० रन जोड्दा ५ विकेट खेर फालेको थियो । 

भैरहवाका लागि कृष्ण कार्कीले ३ मोहम्मद नाभिद् र रेनटेन डोट्स्चे २ विकेट लिँदा शरद भेषावकर र भुवन कार्कीले एक एक विकेट लिएका थिए । 
जवाफमा १५६ रनको लक्ष्य पछ्याएको भैरहवाको स्कोर ३५ रनहुँदा पहिलो विकेटको रुपमा भैरहवाले रेनटेन डोट्स्चेलाई गुमाएको हो । 

डोट्स्चेले १० बलमा १४ रन बनाए । उनी प्रदीप ऐरीसँग ओपनिङ गर्न क्रिजमा आएका थिए । डोट्स्चे आउट भएपछि क्रिजमा ऐरी र रविइन्दरसिंह रहेका थिए । 
तर भैरहवाले ४९ रन हुँदा दोस्रो विकेट गुमाएको थियो । प्रदीप ऐरी ३४ रन बनाएर आउट हुँदा ४ चौका र एउटा छक्का प्रहार गरेका थिए ।

टिमको स्कोर ७२ रन हुँदा तेस्रो विकेटको रुपमा आरिफ शेख १२ रनमा पेभेलियन फर्किएका थिए ।

चौथो विकेटका रुपमा रविइन्दर सिंह व्यक्तिगत २९ रन जोडेर आउट भए । चौथो विकेट गुमाउँदा भैरहवाको स्कोरबोर्डमा १०४ रन रहेको थियो । पाँचौ विकेटको रुपमा कप्तान शरद भेषावकर पेभेलिएन फर्किएका थिए ।

१२ बलमा १४ रन जोड्दा शरदले एउटा छक्का प्रहार गरे । शरद लगत्तै मोहम्मद नाभिद पनि सन्दिप जोराको बलमा आउट भए । नाभिदले १० रन बनाए ।

छैटौ विकेट गुमाउँदा भैरहवाले ११७ रन बनाएको थियो । सातौं विकेटको रुपमा १३९ रन हुँदा रोहित पौडेल ७ रन बनाएर आउट भएका थिए । त्यसपछि कुशल मल्ल १६ रन जोड्दै आठौं विकेटको रुपमा आउट भए ।

त्यसपछि भुवन कार्की पनि रन आउट हुँदा भैरहवाको स्कोर ९ विकेटको क्षतिमा १४० थियो । कृष्ण कार्की र अभिनास बोहरा अन्तिमसम्म खेलेपनि टिमलाई जित भने दिलाउन सकेनन् । 

ललितपुरका  ललित नारायण राजवंशीले ३, पवन शर्राफ र  योगेन्द्र कार्कीले दुई दुई विकेट लिए ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया