ए डिभिजन लिग: संकटा र ब्रिगेड ब्वाइजले अंक बाँडे

 पुस ७, २०७५ शनिबार १६:३९:६ | उज्यालो सहकर्मी

काठमाडाैं - शहीद स्मारक ए डिभिजन लिगमा संकटा र ब्रिगेड ब्वाइजले एक एक अंक बाँडेका छन् ।

बराबरीमा टुंगिएपछि उपाधि होडमा रहेको मनाङसँग अंक बराबरी गर्ने संकटाको योजना तुहिएको छ । शनिबारको बराबरीले उपाधि होडमा रहेको मनाङलाई भने फाइदा पुगेको छ । एक खेल कम खेलेको मनाङ दोस्रो स्थानमा रहेको संकटाभन्दा २ अंक कम भएकाले आउँदो खेलमा जित हात पारे तालिकामा पाँच अंकको अग्रता हासिल गर्नेछ ।

एपीएफ मैदान हलचोकमा भएको दोस्रो खेलमा संकटा र ब्रिगेडले पहिलो हाफमा एक एक गोल गरे पनि दोस्रो हाफमा गोल गर्न सकेनन् । १३ औं मिनेटमा पेनाल्टी मार्फत अग्रता बनाएको संकटाले त्यो अग्रता पहिलो हाफको थप १५ मिनेट मात्र जोगाउन सकेको थियो ।

ब्रिगेडका रन्दीप पौडेलले इलियन मेक्सवेललाई डि बक्सभित्र फल गरेपछि पेनाल्टी दिइएको थियो । पेनाल्टीमा संकटाका अमित तामाङले गोल गरेका थिए ।

२८ औं मिनेटमा ब्रिगेडले खेल बरबारी गरेको थियो । जय गुरुङले गोल गरेपछि ब्रिगेड खेलमा फर्कन सफल भयो । त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेन ।

दाेस्रो हाफमा पनि दुवै टिमले गोल गर्न नसक्दा एक एक गोलको बराबरीमा चित्त बुझाउन बाध्य भए ।

 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया