पोखराका मेयरले भने : अब डोजर चलाउँदिन

 असार १, २०७५ शुक्रबार १६:४१:१७ | उज्यालो सहकर्मी

कास्की – पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले फिर्के खोलामा बन्ने पैदलमार्ग (फूट ट्रयाक) शुभारम्भ गर्ने क्रममा एक्कासी डोजर चल्दा दुर्घटना भएको छ । 

शुक्रबार बिहान पौने दश बजे औपचारिक कार्यक्रम समापन पश्चात् कार्यक्रमका प्रमुख अतिथि जिसीले डोजर चलाएर निर्माण कार्य शुभारम्भ गर्ने क्रममा घटना भएको हो । 

डोजर चलाउने ज्ञान नभएका मेयर जिसी अपरेटर सिटमा बसेको केही छिनमै एक्कासि डोजरको अगाडिको बकेट बायाँतिर घुम्दा छेउमा बसेर फोटो खिच्न लागेका पत्रकारहरु र सर्वसाधारण खसेका थिए । पर्खालमाथिको रेलिङमा आड लागेर बसेका उनीहरु डोजरको अघिल्लो भाग घुमेर पर्खाल नै भत्काएपछि रेलिङसँगै भिरमा खसेका हुन् । 

पत्रकार रञ्जन अधिकारी, सन्देश श्रेष्ठसहित सर्वसाधारण गरी आधा दर्जन भिरमा खसे । सिर्जनाचोककी गौरी पौडेललाई माथिबाट खसेको पर्खालको ढुंगाले च्यापेर खुट्टा फ्याक्चर भएको छ । सबैभन्दा तल २० मिटर जति खसेका पत्रकार अधिकारीको हात र खुट्टामा विभिन्न भागमा चोट लागेको छ । खस्नेबित्तिकै अड्कन पुगेका पत्रकार श्रेष्ठ सामान्य छन् । पत्रकार अधिकारी र पौडेललाई मेट्रो सिटी अस्पतालमा उपचार गरिएको छ । घुँडामा ढुंगाको छपनीले किचिएर गम्भीर चोट लागेका गौरी पौडेल प्रगति आमा समूहकी अध्यक्ष हुनुहुन्छ । 

पोखरा लेखनाथ महानगरपालिका कार्यालय, वडा नम्बर ५ कार्यालय र फिर्के खोला वातावरण संरक्षण तथा बाटो निर्माण उपभोक्ता समिति पोखरा –५, को आयोजनामा भएको कार्यक्रममा मन्तव्यको क्रम सकिएपछि मेयर जिसी वडाध्यक्ष धनबहादुर नेपालीसँगै डोजरमा शुभारम्भ गर्न जानुभएको थियो । डोजर अपरेटर लिलाचन्द्र डल्लाकोटीले सिट छाडेर पछाडि सरेपछि मेयर जिसी बस्दा अपरेटर पनि सँगै थिए । 

यसैबीच मेयर जिसीले दुःखद घटना हुन पुगेकोमा आफूलाई पीडाबोध भएको बताउनुभएको छ । ‘यसरी चलाएर नगरौँ भनेको हुँ । सबैले अपरेटर हुन्छ भनेर भने । यस्तो भयो’, जिसीले भन्नुभयो ‘मैले सोचेको पनि थिइनँ । ठूलो दुर्घटना टरेको हो ।’ उहाँले घाइतेको पूर्ण उपचार निःशुल्क गर्ने जनाउँदै अब आगामी दिनमा आफू सचेत रहने बताउनुभएको छ । 

पोखरा लेखनाथ महानगरवडानम्बर –१८, को अँधेरी कुनादेखि ड्यामसाइडसम्म फिर्केको ६ किलोमिटरको दूरीमा पैदलमार्ग बनाउने महानगरको योजना छ । पैदलमार्ग बनाउनको लागि फिर्के खोला वातावरण संरक्षण तथा बाटो निर्माण उपभोक्ता समितिले काम सुरु गरेको छ । यो काम ५ नम्बर वडाबाट सुरु भएको हो ।
 

याे पनि पढ्नुहाेस् 

‘मेयरसाब’ले डोजर चलाउँदा पत्रकारसहित पाँचजना खोलामा खसे

 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया