भेरी बबई सुरुङ निर्माणमा सोचेभन्दा राम्रो प्रगति

 पुस ८, २०७५ आइतबार ११:४४:२० | मुना हमाल
unn.prixa.net

सुर्खेत – भेरी बबई बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम धमाधम भैरहेको छ । अहिलेसम्म १० किलोमिटर सुरुङ बनाउने काम सकिएको छ । आयोजनाको काम तीव्र गतिमा भइरहेको आयोजनाका सिनियर डिभिजन हाइड्रोजियोलोजिष्ट कृष्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

चीनबाट ल्याइएको टनेल बोरिङ मेसिन (टीबीएम) ले सुरुङ खनिरहेको छ । शनिबारसम्म ९ किलोमिटर ८  सय ८० मिटर सुरुङ खनिसकिएको छ । 

चाइना ओभरसिज इन्जिनियरिङ्ग ग्रुप कम्पनीले २०७४ कात्तिक २० गतेदेखि सुरुङ निर्माणको काम सुरु गरेको थियो । नेपालमा पहिलो टक प्रयोग गरिएको प्रविधियुक्त टनेल बोरिङ मेसिन (टीबीएम)  ले करिब १४ महिनाको अवधिमा सुरुङ निर्माणको काम झण्डै ८० प्रतिशत सकाएको छ ।  

अहिले मेशिनले दैनिक १८ घण्टा काम गरिरहेको छ ।  अबको पाँच/छ महिनाभित्रै सुरुङ निर्माण कामको बे्रक थ्रु भइसक्ने आयोजनाका सिनियर डिभिजन हाइड्रोजियोलोजिष्ट उपाध्यायले जानकारी दिनुभयो । ‘अहिलेसम्म हामीले सोचेभन्दा राम्रोसँग काम भइरहेको छ’ उहाँले भन्नुभयो, ‘बीचमा केही केही असर नपरे अबको पाँच/छ महिनाभित्र सुरुङ निर्माण कामको ब्रेक थ्रु भइसक्छ ।’  आयोजना सम्पन्न गर्नका लागि संशोधित बजेट स्वीकृतिका लागि जलस्रोत तथा सिंचाइ विभागमा पठाइएको उहाँले बताउनुभयो ।


 
विभागबाट बजेट स्वीकृत भएर आएपछि पावर हाउस र बाँध (ड्याम) निर्माण लगायतका काम सुरु हुने उहाँले बताउनुभयो । आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्नका लागि ३३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

‘हामीले यो काम पहिले नै गर्ने भनेका थियौं, तर यहाँको भौगोलिक कारणले गर्दा सुरुङ निर्माण गर्न सकिंदैन की भनेर हामीले ती काम पहिले  सुरु गरेनौं’ उहाँले भन्नुभयो, ‘अब सुरुङ निर्माण हुने ढुक्क भएपछि हामीले अनुमानित बजेट स्वीकृतका लागि विभागमा पठाएका छौं । अब छिट्टै स्वीकृत भयो भने टेण्डर आव्हान गर्छौं र काम सुरु गछौँ ।’ 

सुर्खेतको भेरीगंगा नगरपालिका हात्तीखालदेखि चिप्लेसम्म सुरुङ निर्माण भइसकेपछि भेरीको पानी बबई नदीमा झारेर प्रदेश नम्बर ५ को बर्दिया र बाँकेको ५१ हजार हेक्टर खेतीयोग्य जमिनको सिंचाई गर्ने र  ४८ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ । भेरीको पानी बबईमा खसाल्नका लागि सुर्खेतको भेरीगंगा नगरपालिकाको चिप्लेमा बाँधस्थल तथा बर्दियाको चेपाङमा पावर हाउस निर्माण गरिनेछ ।  सुरुङबाट प्रतिसेकेण्ड ४० घनमिटर पानी बबईमा झार्ने लक्ष्य लिइएको छ ।

सुरुङ निर्माण यसै वर्ष सकिने भए पनि उपभोग भने गर्न करिब पाँच÷छ वर्ष लाग्ने छ । आयोजनाले  आर्थिक वर्ष २०७९/८० मा सम्पूर्ण काम गरिसक्ने लक्ष्य लिइएको छ । पावर हावस निर्माण, बाँध स्थल, सुरुङको फिनिसिङ गर्न समय लाग्ने भएका कारण अबको पाँच वर्षपछि मात्रै उपभोग गर्न पाउने उपाध्यायले जानकारी दिनुभयो । 

आयोजना सम्पन्न भएपछि बर्दियाको ४५ र बाँकेको ६ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाई हुने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया