सुदूरपश्चिम विश्वविद्यालय आन्दोलनः प्राध्यापकद्वारा एक दिनका लागि ‘पेन डाउन’

 पुस ८, २०७५ आइतबार १३:९:२० | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर  – सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा कर्मचारी भर्नाको असन्तुष्टि बढ्दै गएसँगै आन्दोलन पनि तीव्र बन्दै गएको छ । क्याम्पस प्रमुख डा. भुपेन्द्र विष्ट र प्राध्यापक संगठनका केही कर्मचारीले भागबण्डाको आधारमा कर्मचारी भर्ना गरेको भन्दै गएको आइतबारबाट चार विद्यार्थी संगठनले सुरु गरेको आन्दालेनमा प्राध्यापकले पनि समर्थन जनाएका छन् ।

क्याम्पस प्रमुख डा. भुपेन्द्र विष्टले मापदण्ड विपरीत कर्मचारी नियुक्त गरेको भन्दै प्राध्यापकहरुले आइतबार एक दिनका लागि पेन डाउन गरेका हुन् ।

कर्मचारी नियुक्ती खारेजीको विषयमा नागरिक समाज र विद्यार्थीले उठाएको मागलाई आफूहरुले पनि सर्मथन गर्दै एक दिनका लागि पेन डाउन गरेको सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्राध्यापक यज्ञराज पाठकले बताउनुभयो ।

उहाँले क्याम्पस प्रमुखले सामान्य मापदण्ड पूरा नगरि कर्मचारी भर्ना गरेकाले यस्ता निर्णय बदर गर्नुपर्ने माग राख्नुभयो ।

क्याम्पस प्रमुखले कर्मचारी भर्ना गर्दा कति कर्मचारी आवश्यक छन् भन्ने जानकारी नगराएरै भर्ना भर्ना गरेको, कर्मचारी भर्ना गर्दा पनि विज्ञापन नखोलेको, लिखित तथा मौखिम परीक्षा नलिएको तथा भर्ना गरिएका कर्मचारीसमेत सम्बन्धीत विषयको नभएको प्राध्यापकहरुको आरोप छ । 

आफूहरुको मागको सम्बोधन नभए विकृति र विसंगतिका विरुद्ध अझ सशक्त तरिकाले आन्दोलन अगाडि बढाउने प्राध्यापकहरुले चेतावनी समेत दिएका छन् ।  

क्याम्पस प्रमुख डा. भुपेन्द्र विष्टले भने आफूले प्रक्रियागत रुपमा कर्मचारी भर्ना गरेको बताउनुभयो । उहाँले विगतमा भइरहेको प्रक्रिया अनुसार आफूले पनि आवश्यकता अनुसार कर्मचारीलाई भर्ना गरेको बताउनुभयो । 

‘गएका वर्षमा पनि क्याम्पसलाई आवश्यक परेका बेला आफै कर्मचारी राख्न पाउने व्यवस्था थियो’, क्याम्पस प्रमुख विष्टले भन्नुभयो ‘मैले पनि त्यहि व्यवस्था अनुसार कार्यादेश दिएको हुँ ।’ 

आन्दोलनका नाामा वार्गेनिङ

कर्मचारी भर्नाका विषयमा भइरहेको आन्दोलनको कुनै औचित्य नभएको क्याम्पस प्रमुख विष्टले बताउनुभएको छ । उहाँले आन्दोलनका नाममा केहि व्यक्तिले आफन्त राख्न दबाब दिइरहेको बताउनुभयो । 

व्यक्तिगत दुस्मनिका कारण केही व्यक्तिले क्याम्पसमा तोडफोड गरेको बताउदै आन्दोलनका नाममा वार्गेनिङ्ग भइरहेको उहाँले आरोप छ । ‘कर्मचारी भर्ना गरिएको विषयमा विद्यार्थी संगनका प्रमुखहरु बोलेका छैनन्’, उहाँले भन्नुभयो ‘तर, केहिले आन्दोलनका नाममा आफ्ना आफन्त राख्न वार्गेनिङ्ग गरिरहेका छन् ।’

यता, प्राध्यापकले आन्दोलन गर्नुको अर्थ नभएको उहाँको भनाई छ । ‘हिजो आफू जुन प्रक्रियाबाट आएका हुन्, आज तिनै प्रक्रियागत भएन भनेर आन्दोलनमा लागेका छन्’ उहाँले भन्नुभयो ‘प्रक्रिया नै गलत हो भने पहिले आफूले राजिनामा दिएर यो प्रक्रियालाई खारेज गर्नुपछ ।’

विभागीय प्रमुखको संयुक्त राजीनामा

आफूहरुलाई कुनै काम कर्तव्य नदिएको र भएको अधिकार पनि कटौती गरेको भन्दै सम्पूर्ण विभागीय प्रमुखहरुले संयुक्त रुपमा राजीनामा दिएका छन् । आर्थिक वर्ष सुरु भएको ६ महिना बितिसक्दा पनि बजेट विनियोजन नभएको र काम गर्न कुनै अधिकार नै नभएकाले ६ वटै विभागका विभागीय प्रमुखहरुले संयुक्त रुपमा राजीनामा दिएको व्यवस्थापन विभागका विभागीय प्रमुख प्रेम खातीले बताउनुभयो ।

उहाँका अनुसार विभागीय प्रमुखहरुलाई परिक्षाको तालिका निकाल्ने, परिक्षा लिने, अनुपस्थित प्राध्यापकलाई बोलाए कक्षा संचालन गराउन लगाउने मात्रै कार्य क्षेत्र दिइको छ ।

‘गएका वर्षमा विभागीय प्रमुखहरुलाई आर्थिक र प्रशासनिक अधिकार थियो’, उहाँले भन्नुभयो ‘विद्यार्थीले आफ्ना सबै समस्या विभागीय प्रमुखलाई भन्ने हो । तर अहिले त्यो अधिकार सबै कटौती भएको छ । यस्तो अवस्थामा कसरी काम गर्ने ?’ उहाँले आफूहरुको कार्यअधिकार स्पष्ट हुनुपर्ने माग राख्नुभयो ।

पठनपाठन ठप्प

कर्मचारी नियुक्ती विषयमा चार विद्यार्थी संगठनले गएको आइतबारबाट जारी राखेको संयुक्त आन्दोलन कारण सुदूरपश्चिम विश्वविद्यालयको पढाई प्रभावित भएको छ ।

विद्यार्थी तथा प्राध्यापकको आन्दोलनका कारण अध्ययनका लागि टाढा–टाढाबाट आएका विद्यार्थी मर्कामा परेका छन् । उनीहरुले क्याम्पस प्रशासनले आन्दोलनरत पक्षलाई वार्तामा ल्याएर निकाश खोज्नु पर्ने बताएका छन् । 
 

अन्तिम अपडेट: चैत ८, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया