तीन नम्बर प्रदेशले पहिलोपटक परियोजना बैंकको सुरु गर्दै

 पुस ८, २०७५ आइतबार १७:३८:२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – नेपालमा नै पहिलोपटक तीन नम्बर प्रदेश सरकारले परियोजना बैंकको सुरुवात गर्ने भएको छ ।

पहिलो चरणमा प्रदेश सरकारले आफ्ना सातवटै मन्त्रालयले गर्ने कामका योजनाहरु प्रोजेक्ट बैंकमा इन्ट्री गरेर मात्र काम गर्न लागेको हो । यो परियोजना बैंकको पहिलो चरणको खाका तयार पारेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव केवल भण्डारीले जानकारी दिनुभएको छ । आइतबार मन्त्रीहरुको बैठकसमक्ष सचिव भण्डारीले बैंकको खाका पेश गर्नुभएको हो ।

योजनाहरुलाई व्यवस्थित बनाउन परियोजना बैंक लागू गरिएको हो । कुनै पनि ठाउँको विकासका लागि योजना बनाउने व्यक्तिले परियोजना बैंक अन्तर्गतको सफ्टवयरमा त्यो योजनाको पूर्ण विवरण भरेपछि त्यो योजना कार्यान्वयनमा जानेछ । परियोजना बैंकको नाम दिइएको सफ्टवयरमा प्रदेश सरकारले गर्ने सबैखालका काम समावेश गर्ने र व्यक्तिगतभन्दा पनि संस्थागत योजनाहरुलाई समावेश गरिने मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले भन्नुभयो, ‘कुनै पनि योजना व्यक्तिबाटभन्दा पनि संस्थागतबाट आउने क्रमको सुरुवात गर्नका लागि परियोजना बैक महत्वपूर्ण हुन्छ । यसको चाँडो भन्दा चाँडो सुरुवात गर्न जरुरी छ ।’ योजना निर्माण गर्न केन्द्रीय सरकारको योजानको फ्रेमभित्र रहेर काम गरिनुपर्ने बेला आएको उहाँको भनाई छ । परियोजना बैंक आउँदो आर्थिक वर्षबाट प्रदेश सरकारले लागू गर्ने छ । चालु आर्थिक वर्षका योजनालाई भन्दा पनि बहुवर्षिय र आउँदो वर्षका योजनालाई समेटिने तयारी रहेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव भण्डारीको नेतृत्वमा केही इञ्जिनियरहरुको टिमले यो परियोजना बैंकको तयारी गरेको हो । यो तयार भएर लागू हुने बित्तिकै तीन नम्बर प्रदेशमा योजनाबद्ध रुपमा काम गर्न सहज हुने प्रमुख सचिव आनन्दराज ढकालले बताउनुभयो ।

सफ्टवयरमा प्रदेश सरकारले गर्ने कुनै पनि विकास निर्माणका काम, योजानहरु समावेश गरेर राख्नका लागि तयार पारिएको हो । यो सफ्टवयरबाट काम सुरु भएपछि कुनै व्यक्ति, सांसद, मन्त्रीले मुखले टिपाएर योजनाहरु अर्थ मन्त्रालयको योजना किताबमा पर्ने, चिटमा टिपाउने, सोर्स फोर्समा योजना छनौट गरिने संस्कारको अन्त्य हुने अपेक्षा गरिएको छ ।

योजान व्यक्तिगत स्वार्थभन्दा पनि आवश्यक्ताका आधारमा छनौट गर्न र कार्यन्वयनमा लैजानका लागि पनि सजिलो हुने छ । परियोजना बैंकबारेको छलफल बैठकमा तीन नम्बर प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देवकोटा, विभिन्न मन्त्रालयका सचिवहरु, उपसचिवहरु लगायतकाको सहभागिता रहेको थियो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया