सुदूरपश्चिम प्रदेश : धनगढीमा घर भएका सांसदहरुको घरभाडा फिर्ता लिइने

 पुस ८, २०७५ आइतबार १८:२:२९ | विमल बिष्ट
unn.prixa.net

डोटी –  सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमै घर भएका सांसदहरुले लिँदै आएको घरभाडाबापतको रकम फिर्ता दिने भएका छन् ।

सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले धनगढीमै घर भएर पनि घरभाडा लिइरहेका सांसदहरुले अहिलेसम्म लिएको घरभाडावापतको रकम फिर्ता मागिने बताउनुभयो ।

‘राजधानीमै घर भएर पनि सांसद ज्यूहरुले घरभाडाको रकम लिनु नहुने हो’, उहाँले भन्नुभयो, ‘आफनो नैतिकताका आधारमा पनि उहाँले लिएको भाडा फिर्ता गर्नु पर्ने हुन्छ, नभए हामी फिर्ता दिन लगाउँछौ ।’

सभामुख थापाले घरभाडा लिएको विषयमा आइतबार संसद सचिवालयका कर्मचारीसहितको टोलीसँग बैठक बसेको र घर भएका सांसदको बारेमा जानकारी लिइएको बताउनुभयो ।  ‘अबका दिनदेखि घरभाडा नभएका सांसदहरुलाई फराम भरेको आधारमा मात्रै घरभाडा दिन संसद सचिवालयका कर्मचारीलाई निर्देशन दिएको छु’, उहाँले भन्नुभयो, ‘धनगढीमा घर भएका सांसद ज्यूहरुलाई कुनै हालतमा पनि घरभाडा दिइने छैन् ।’

सुदूरपश्चिम प्रदेशको संसद सचिवालयले दिएको जानकारी अनुसार प्रदेश राजधानीमा घर भएका ११ जना सांसदहरुले कैलालीमा आफ्नो घर नभएको भन्दै महिनैपिच्छे घर भाडा बापतको रकम लिइरहेका थिए ।

यसरी कैलालीमै घर भएर पनि घर भाडा लिने सांसदहरुमा कैलाली क्षेत्र नम्बर ५ ‘ख’ बाट निर्वाचित कांग्रेस सांसद डिल्लीराज पन्त, कांग्रेसका समानुपातिक सांसद टेकबहादुर रैका, कैलाली क्षेत्र नम्बर ३ बाट निर्वाचित नेकपाका सांसद वीरमान चौधरी, नेकपाकी समानुपातिक सांसद सुशीला बुढाथोकी, राजपाकी समानुपातिक सांसद मालामती राना, कैलाली क्षेत्र नम्बर ४ को ‘क’ बाट निर्वाचित नेकपाका सांसद तथा पूर्वमन्त्री दीर्घ सोडारी, क्षेत्र नम्बर ५ को ‘क’ बाट निर्वाचित नेकपाका सांसद नेपालु चौधरी, नेकपाकी समानुपातिक सांसद चुनकुमारी चौधरी,नेपाली कांग्रेस डोटी ‘क’ बाट निर्वाचित सांसद भरतबहादुर खड्का, कांग्रेसकै सांसद दिव्येश्वरी शाह, कञ्चनपुरबाट समानुपातिक सांसद बनेका कांग्रेस नेता देवराज पाठक रहेका छन् ।

संसद सचिवालयका अनुसार सभामुख र उपसभामुख बाहेक अन्य सबै सांसदहरुले घर भाडा वापतको रकम लिइरहेका छन् । मुख्यमन्त्री, मन्त्री तथा सभामुख र उप–सभामुखले सरकारी आवास सुविधा पाएकाले घरभाडा नपाउने नियम रहेको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया