देश विकास र समृद्धितर्फ अघि बढेको छ : प्रधानमन्त्री ओली

 पुस ८, २०७५ आइतबार १९:१६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकास र समृद्धितर्फ अघि बढेको बताउनुभएको छ ।

नेपालका सरकारी वकीलहरुको दोस्रो राष्ट्रिय सम्मेलनलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासको बाटोमा अगाडि बढेको बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले कानुनी शासन र समाजिक न्यायसहितको लोकतन्त्रलाई मजबुत बनाएर समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गरिने बताउनुभएको छ ।

‘सामाजिक सद्ध्भाव र समानताको बाटोबाट संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर मात्रै देशमा आर्थिक क्रान्ति हुन्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीले लामो समय राजनीतिक क्रान्ति ग¥यौं । अब आर्थिक  क्रान्ति गरेर देशलाई समृद्धिको बाटोमा हिँडाउनु पर्दछ ।’

कतिपय संघ संस्थामा राजनीति घुसेर त्यसलाई प्रदुषित पारेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘केही केही संस्थामा राजनीति घुसेर तिनलाई प्रदुषित बनाएका छन्’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कहिले बैचारिक प्रभाव, कहिले द्रव्यलाभ वा कतैतिरको संलग्नताले यस्तो हुन्छ । यस्ता प्रदुषकलाई निस्तेज बनाएर संस्थाहरुलाई व्यावसायिक बनाउनु पर्दछ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले शुसासन र विकासको नेतृत्व लिन सबै सरकारी निकायलाई निर्देशन दिनुभएको छ । नागरिकले सरकारलाई आफ्नो मत दिएर सहयोग गरिसकेको भन्दै उहाँले सुशासन र विकासको नेतृत्व गर्ने दायित्व र जिम्मेवारी सरकार र सरकार मातहतका निकायको भएको बताउनुभएको हो ।

सरकारी वकीलहरुको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अपराधमुक्त समाज निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न महान्यायाधिवक्ता र मातहतका निकायलाई आग्रह गर्नुभएको हो । समाजलाई अपराधमुक्त बनाउन प्रभावकारी अनुसन्धान गरी अभियोजनमा जानुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले चुनाव मार्फत देशमा राजनीतिक स्थिरता र स्थायित्व कायम भएकाले अस्थिर राजनीतिमा चलखेल गर्ने सबै किसिमका क्रियाकलाप अन्त्य भएको दाबी गर्नुभयो । 

३ दिनसम्म चल्ने सम्मेलनमा फौजदारी संहिताको प्रभावकारी कार्यान्वयनका सम्बन्धमा छलफल गरी साझा धारणा तय गरिनेछ । सम्मेलनमा महान्यायाधिवक्ता, २३ जना सहमहान्यायाधिवक्तासहित ३ सय ७९ जना सरकारी वकील र ८० बढी प्रतिनिधिहरु पर्यवेक्षकको रुपमा सहभागी छन् ।
 

अन्तिम अपडेट: चैत १९, २०८०

तपाईको प्रतिक्रिया