गोरखाको सामागाउँ जंगलमा लागेको डढेलो अझै निभाउन सकिएन

 पुस ९, २०७५ सोमबार १८:३५:५२ | किरण लोहनी
unn.prixa.net

फाइल तस्बिर

गोरखा – गोरखाको चुमनुब्री गाउँपालिका १ सामागाउँको मनास्लु बेस क्याम्प नजिकै भिषण डढेलो लागेको छ ।

दुईदिनदेखि लागेको डढेलो अझैसम्म नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । गाउँले र स्थानीय सुरक्षाकर्मीले आगो निभाउने प्रयास गरे पनि आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरी उपरीक्षक भोला रावलले बताउनुभयो ।

डेढ सयभन्दा बढी स्थानीय र प्रहरी हिजैदेखि आगो निभाउन खटिएको उहाँको भनाई छ । नामरुङ र सिर्दिवासबाट थप प्रहरी खटाइएको रावलले जानकारी दिनुभयो ।
‘अहिले केही कम भएको जानकारी आएको छ, तर पुरै नियन्त्रणमा आउन चाहिँ सकेको छैन भन्ने खबर आएको छ’, उहाँले भन्नुभयो । सामागाउँमा आगो आउनसक्ने भन्दै गाउँले त्रसित भएको स्थानीय धार्के पुनेलले बताउनुभयो ।

गोरखा सदरमुकामबाट ५२ कोष टाढा रहेको सामागाउँको एउटै बस्तीमा एकसय ३० घरधुरी छन् । मनास्लु संरक्षण क्षेत्रभित्र पर्ने जंगलमा आगलागी हुँदा धेरै वन्यजन्तु मरेको खबर आएको मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले जनाएको छ ।

मनास्लु बेस क्याम्प गएर फर्केका पर्यटक पथ प्रदर्शक सुवास पोखरेलले जंगलमा फालेको आगोसहितको चुरोटको ठुटोबाट आगो सल्केको प्रहरी उपरीक्षक रावलको भनाई छ । पथ प्रदर्शक पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया