राष्ट्रिय जनता पार्टी नेपालको माग पूरा गर्न प्रधानमन्त्री ओली सहमत

 पुस १०, २०७५ मंगलबार १४:१२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय जनता पार्टी, नेपालको संविधान संशोधन गर्नुपर्नेलगायतका माग तत्काल सम्बोधन गर्न तयार हुनु भएको छ । 

सरकारलाई दिएको समर्थन फिर्ता लिनेगरी आन्तरिक छलफलमा जुटिरहेका राष्ट्रिय जनता पार्टीका नेतृत्वसँग मंगलबार बिहान आफ्नै सरकारी निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्नेलगायतका माग छिटोभन्दा छिटो गर्न समाधान गरेर अघि बढ्न सरकार तयार रहेको बताउनु भएको हो ।

राष्ट्रिय जनता पार्टी, नेपालका नेतृत्वसँगको भेटमा प्रधानमन्त्री ओलीले उनीहरुको माग छिटोभन्दा छिटो समाधान गरेर अघि बढ्न तयार रहेको बताउनु भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो । संविधान संशोधन गर्नेलगायतका माग सम्बोधनको तयारी गर्न प्रधानमन्त्री ओलीले राष्ट्रिय जनता पार्टी, नेपालको नेतृत्वसँग एक हप्ताको समय पनि माग गर्नु भएको छ ।

एक हप्ताभित्र आफूहरुको माग सम्बोधनका लागि आवश्यक तयारी गर्न प्रधानमन्त्रीले समय माग्नु भएको र आफूहरुले दिएको राष्ट्रिय जनता पार्टी, नेपालका संयोजक राजेन्द्र महतोले बताउनुभयो । छलफलमा राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरुले सहमति अनुसार संविधान संशोधन नगरेको, प्रतिनिधिसभामा निर्वाचित पार्टीका सांसद रेशमलाल चौंधरीलाई सपथ खुवाउने व्यवस्था नगरेको तथा विभिन्न राजनीतिक आन्दोलनमा परि जेल चलान भएका र अनावश्यक मुद्दा लगाइएका आफ्ना पार्टीका कार्यकर्तालाई रिहा तथा माफी नदिइएको भन्दै प्रधानमन्त्री ओलीप्रति असन्तुष्टि जनाएका थिए ।

त्यस अवसरमा एक हप्ताभित्र पनि आफूहरुको माग सम्बोधन गर्ने तयारी नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी पनि राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरुले दिएका थिए । राष्ट्रिय जनता पार्टी, नेपालले आफूहरुको माग सम्बोधन नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया