विद्युत चाेरी नियन्त्रण टाेलीका प्रहरीलाई देखेर हृदयघात भई एक महिलाको मृत्यु

 पुस १०, २०७५ मंगलबार १६:५३:३३ | शुभनारायण यादव

सप्तरी – प्रहरीलाई देखेर हृदयघात भई सप्तरीमा मंगलबार एक महिलाको मृत्यु भएको छ । 

विद्युत चुहावट नियन्त्रणका लागि प्रहरीसहित खटिएको विद्युत कर्मचारीको टोली सप्तरीको राजगढ गाउँपालिका वडा न. २ कमलपुर टोलकी ४० वर्षीया सविता देवी झाको घरमा पुगेपछि हृदयघात भई मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

विद्युत चोरी नियन्त्रणका नाममा मंगलबार बिहान घरमा पसेर प्रहरीसहितको टोलीले वादविवाद गर्न थालेपछि त्रसित भएर सवितालाई हृदयघात भएको झाका श्रीमान अनिल कुमार झाले दावी गर्नुभयो ।

‘सुतिरहेको बेला हतियारसहित घरमा पसेर हप्काउन थाले,’ उहाँले भन्नुभयो,‘त्यही डरले बेहोस भएर उनी लडिन् र उनको मृत्यु भएको हो ।’
सविताको मृत्युपछि आक्रोशित  बनेका स्थानीयले पोष्टमार्टमका लागि शव उठाउन दिएका छैनन्।

प्रहरीले घटनाको जिम्मेवारी लिएर परिवारलाई राहत र क्षतिपूर्ति दिने सम्झौता नभएसम्म शव उठाउन नदिने राजगढ गाउँपालिका वडा न. २ का वडाअध्यक्ष ललितनारायण सिंहले बताउनुभयो । 

यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले प्रहरीलाई देखेपछि त्राासका कारण घटना घटेको हुनसक्ने बताउनुभयो । 
स्थानीयका अनुसार सवितालाई यसअघि पनि हृदयघातको समस्या देखिएको देखिएको थियो । 

यसैबीच विद्युत चुहावट नियन्त्रण टोलीले राजगढ गाउँपालिका वडा न. २ को कमलपुर टोलबाट ९ जनालाई नियन्त्रणमा लिएको छ। हुकिङ गरी विद्युत प्रयोग गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो । चोरी नियन्त्रणका क्रममा पाहुना आएका व्यक्तिलाईसमेत टोलीले पक्राउ गरेको स्थानीयले आरोप लगाएका छन्।
भारतको जिरोगाबाट कमलदेव यादवको घरमा पाहुना आएका चन्दन कुमार यादवलाई समेत टोलीले पक्राउ गरेर लगेको वडा अध्यक्ष सिंहले जानकारी दिनुभयो । 
पछिल्लो पटक विद्युत चुहावटको नाममा व्यापक मात्रामा प्रहरी प्रशासन सहितको टोली मानिसहरु सुतिरहेको अवस्थामा पुगेर बिभिन्न बहानामा सर्वसाधारणहरुलाई झुक्याएर पक्राउ गर्ने गरेको आरोप स्थानीयबासीहरुको रहेको छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया