पुस अन्त्यसम्म पार्टीभित्र देखिएको समस्या समाधान गर्ने गरी कार्यदल बनाऔँ : प्रचण्ड

 पुस ११, २०७५ बुधबार १२:२१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएको विवाद समाधान गर्न कार्यदल बनाउनु पर्नेमा जोड दिनुभएको छ ।

पार्टीको जारी स्थायी समिति बैठकमा सदस्यहरुले उठाएको जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । पुस अन्त्यसम्ममा पार्टीभित्र देखिएको सबै विवाद समाधान गर्ने गरी कार्यदल बनाएर अघि बढ्नुपर्छ भनेर अध्यक्ष प्रचण्डले आफ्नो धारणा राख्नु भएको बैठकमा एक स्थायी समिति सदस्यले जानकारी दिनुभयो ।

बैठकमा सबै स्थायी समिति सदस्यहरुले आफ्नो धारणा राखिसकेका छन् । बुधबार अध्यक्षद्वय प्रचण्ड र प्रधानमन्त्री समेत रहनुभएका केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम छ । अध्यक्ष प्रचण्डले बैठकमा स्थायी समिति सदस्यहरुले राखेको धारणाका बारेमा जवाफ दिँदै अहिले देखिएको विवाद समाधान गर्न कार्यदल बनाएर अघि बढ्नु पर्नेमा जोड दिनुभएको हो । जारी बैठकबाटै सबै विवाद टुंगो लगाउनुपर्ने भन्दै उहाँले स्थायी समितिबाटै कार्यदल गठन गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा प्रस्तुत भएको राजनीतिक प्रतिवेदन र त्यसमाथि सदस्यहरुले उठाएका जिज्ञासाको सेरोफेरोमा रहेर अध्यक्ष प्रचण्डले आफ्नो विचार व्यक्त गर्नुभएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

बैठकमा स्थायी समिति सदस्यले व्यक्त गरेका धारणा पार्टीलाई सुदृढ र शसक्त बनाउनु पर्छ भन्ने भावनाले आएको भन्दै उहाँले यसले पार्टी एकतालाई झन बलियो बनाएको बताउनुभएको थियो । 
 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया