अस्पतालका मेडिकल स्टोर नै अव्यवस्थित

 पुस ११, २०७५ बुधबार १२:५९:४५ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – महोत्तरीको गौशालास्थित प्राथामिक स्वास्थ्य केन्द्रका औषधी राख्ने स्टोर नै अव्यवस्थित रहेको पाइएको छ ।

स्वास्थ्य केन्द्र सञ्चालन रहेको माथिल्लो तल्लामा रहेको मेडिकल स्टोरमा अव्यवस्थित तरिकाले औषधी राखिएको पाइएको छ । सिढी व्यवस्थित नहुँदा रस्सीको माध्यमले औषधी लैजाने, ल्याउने कार्य गर्दै आएको स्टोर इन्चार्ज मनोज साहले बताउनुभयो । भेन्टिलेसन खुल्ला रहेकोले वर्षातको समयमा स्टोरभित्र पानी पर्दा औषधी खराब हुँदै आएको इन्चार्ज साहले जानकारी दिनुभयो ।

भवनको अभावमा माथिल्लो कोठामा औषधीहरु राख्नका लागि निर्माण गरिएको स्टोरभित्र प्रत्यक्ष रुपमा सूर्यको प्रकाश जाँदा सो भवनलाई व्यवस्थित गर्नु अति नै आवश्यक रहेको कार्यालय स्रोतले जनाएको छ । गौशाला नगरपालिकाका नगर स्वास्थ्य संयोजक डा देवेन्द्र यादवले आफूले अनुगमन गरी भवनलाई व्यवस्थित गर्नका लागि नगरपालिकाको ध्यानाकर्षण गराइसकेको जानकारी गराउनुभयो ।

यसभन्दा अगाडिको नगरपरिषदमा स्वास्थ्य शाखाले तयार पारिएको एजेण्डा नगरपालिकाको बैठकमा प्रवेश नपाएको संयोजक यादवको आरोप रहेको छ । यस क्षेत्रकै सबैभन्दा ठूलो एवम् व्यवस्थित स्वास्थ्य केन्द्रको रुपमा रहेको यस स्वास्थ्य संस्थालाई व्यवस्थित बनाउन तथा सटरसहितको ब्राउन्ड्री, मेडिकल स्टोर्स भवनसहितको भौतिक संरचना निर्माण गर्नका लागि नगरपालिकासँग डेढ करोड बराबरको प्रस्तावसहितको एजेण्डा नगरकार्यपालिकाको बैठकमा प्रवेश पाउन नसकेको संयोजक यादवले जानकारी दिनुभयो ।

केहीदिन अगाडि गरिएको अनुगमनको क्रममा तत्काल त्यो भवनलाई ढाकछोप गरी व्यवस्थित बनाउनका लागि इन्चार्ज मनोज साहलाई निर्देशन समेत दिइसकेको यादवले जानकारी दिनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्यालले स्वास्थ्य केन्द्रलाई व्यवस्थित पार्नका लागि नगरपालिकाले छलफल गरेर काम व्यवस्थित गर्ने बताउनुभयो ।

मेडिकल स्टोरका लागि तत्कालै छुटटै भवन निर्माण गर्न नसके पनि व्यवस्थित गर्न भने सकिने अधिकृत आर्यालले बताएका छन् । गौशाला नगरपालिकाको सबैभन्दा ठूलो एवम् व्यवस्थित स्वास्थ्य संस्थाको रुपमा परिचित रहेको यस स्वास्थ्य संस्थामा गौशाला नगरपालिका, औरही नगरपालिका, सोनमा गाँउपालिकाका सेवाग्राहीहरु उपचार गराउनका  लागि आउने गर्दछन ।  

अन्तिम अपडेट: चैत १५, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया