विश्वकपमा रोनाल्डोको पहिलो ह्याट्रिक : स्पेन र पोर्चुगलको खेल बराबरी

 असार २, २०७५ शनिबार ६:५२:४५ | उज्यालो सहकर्मी

समूह चरणको खेल नै रोमाञ्चकताले भरिपूर्ण । सुरुमा पोर्चुगलको अग्रता त्यसपछि  स्पेनको बराबरी गोल ।  फेरि पोर्चुगलको अग्रता, स्पेनको बराबरी र अग्रता । त्यसपछि फेरि पोर्चुगलको पुनरागमन । एउटा खेलमा ६ गोल, एक ह्याट्रिक । प्रत्येक गोलले दुवै टिमको पावरलाई ब्यालेन्स गरिरहेको थियो । 

समूह चरणकै पहिलो खेलमा प्रतिस्पर्धामा उत्रिएका दुई युरोपेली टोली स्पेन र पोर्चुगलको खेल निकै नै रोमाञ्चक र सनसनीपूर्ण भयो । 

क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगलले सन् २०१० को विश्व विजेता स्पेनलाई बराबरीमा रोकेको छ । खेलमा पोर्चुगलले २ पटक अग्रता बनाएको भए पनि स्पेनका डिएगो कोस्टाले दुई पटक नै बराबरी गरेका थिए ।
 

त्यसपछि नाचोले ५८ औं मिनेटमा गोल गर्दे स्पेनलाई ३–२ को अग्रता दिलाएका थिए । रोनाल्डोले खेल सकिन २ मिनेट बाँकी छँदा फ्रिकिक मार्फत ह्याट्रिक पूरा गर्दै स्पेनलाई १ अंकमा रोके । यसअघि चौथो मिनेटमा पाएको पेनाल्टीलाई गोल गरेका रोनाल्डोले ४४ औं मिनेटमा दोश्रो गोल गरेका थिए । रोनाल्डोको प्रहारलाई स्पेनका गोलरक्षक डेभिड डि गियालेले राम्रोसँग नियन्त्रणमा लिन सकेनन् । रोनाल्डोको प्रहार उनले समात्न खोजे पनि उनको हातबाट फुस्केर गोल हुन पुगेको थियो । 

योसँगै रोनाल्डोले आफूले खेलेका चार वटै विश्वकपमा गोल गरेका छन् । उनी चार वटा विश्वकपमा गोल गर्ने सीमित खेलाडीको सूचीमा सामेल भएका छन् । यसअघि पेले, मिरोस्लाभ क्लोस, उवे सीलरले मात्रै चार वटा विश्वकपमा गोल गरेका छन् । विश्वकपमा पेलेले १२, सीलरले १४ र क्लोसले १६ गोल गरेका छन् । रोनाल्डोले भने यसअघि २००६, २०१० र २०१४ को विश्वकपमा एक–एक गोल मात्रै गरेका छन् । 

रोनाल्डोले क्लब र कन्ट्री करिअरमा गरी आफ्नो ह्याट्रिक संख्या ५१ पुर्याएका छन् । विश्वकपको इतिहासमा पनि उनको ह्याट्रिक ५१ औँ ह्याट्रिकको रुपमा दर्ता भएको छ । शुक्रबारको खेलमा रोनाल्डोले प्रहार गरेका ४ प्रहारमध्ये ३ वटा प्रहार गोलमा परिणत भए । 

नवनियुक्त प्रशिक्षक फर्नान्डो हिएराेकाे योजनामा मैदान उत्रिएको स्पेनले २ पटक पछि परे पनि पोर्चुगलमाथि दवाव बनाएको थियो । रियल मड्रिडमा नियुक्त हुनेबारे कुनै सल्लाह नै नगरेको भन्दै स्पेनले विश्वकप सुरु हुने अघिल्लो दिन जुलेन लोपोटेगीलाई बर्खास्त गरेर पूर्व खेलाडी हिएरोलाई प्रशिक्षक बनाएको छ । 

समूह बीमा रहेका पोर्चुगल र स्पेनले बराबरी खेल्दै एक–एक अंक बटुल्दा इरानले मोरक्कोमाथि जित हात पार्दै ३ अंक बटुलेको छ । 

तस्बिरहरु - डेलीमेलबाट

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया