काम ठग्न सेवाग्राही आउँदा ‘औषधी छैन’ भनेर पठाइदिन्छन् कर्मचारी

 पुस ११, २०७५ बुधबार १८:१८:८ | शिव ढुंगाना
unn.prixa.net

प्रतिकात्मक तस्बिर

ओखलढुंगा – सदरमुकामकै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नबसेपछि सिद्धिचरण नगरपालिकाले ओखलढुंगा स्वास्थ्य चौकीमा अनुगमन गरेको छ ।

अनुगमनका क्रममा सेवाग्राही आउँदा ‘औषधी छैन’ भनेर फर्काइएको, स्वास्थ्यकर्मी आलोपालो गरेर घर र आफ्ना पसलमा बस्ने गरेको पाइएको अनुगमन टोलीका सदस्य नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले बताउनुभयो ।

खतिवडाले सबै स्वास्थ्यकर्मीलाई जिम्मेवार भएर सेवा दिन निर्देशन दिएको जानकारी दिनुभयो । नगरपालिकाका उप–प्रमुख इच्छाकुमारी गुरुङको नेतृत्वमा स्वास्थ्य चौकी अनुगमन गरिएको थियो ।

कार्यालय पनि जसोतसो चलाइएको, उपचार सेवा प्रभावकारी नहुँदा बिरामी निजी क्लिनिकमा धाउने गरेको पाइएकाले अनुगमन गरेर सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशन दिइएको उपप्रमुख गुरुङले सञ्चारकर्मीहरुलाई बताउनुभयो ।

सदरमुकाममा वरिपरी घर भएका स्वास्थ्यकर्मी आलोपालो गरेर कार्यालय आउने, हाजिर गरेर हिँड्ने गरेपछि स्वास्थ्य चौकीमा सेवाग्राही जानै छाडेका छन् । 
निर्देशन पालना नभए कानुनी कारबाहीमा जाने नगरपालिकाले चेतावनी दिएको छ । 

अन्तिम अपडेट: चैत २३, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया