अमेरिकी राष्ट्रपति ट्रम्प अचानक इराकमा !

 पुस १२, २०७५ बिहिबार १५:१३:३३ | रासस
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकको आकस्मिक भ्रमण गर्नुभएको छ । उहाँ अमेरिकी राष्ट्रपति निर्वाचित भएपछिको यो पहिलो पटक इराक पुग्नुभएको हो । 

उहाँको यो भ्रमण पूर्व घोषित नभई अकस्मात भएको बताइएको छ । राष्ट्रपति ट्रम्पले इराकको भ्रमण गरेर त्यहाँबाट जर्मनी प्रस्थान गरेको केही घन्टापछि मात्र उहाँको भ्रमणको बारेमा जानकारी गराइएको थियो । 

इस्लामिक स्टेट परास्त भैनसकेको र सिरियामा जारी गृहयुद्ध पनि समाप्त नभएको अवस्थामा सिरियामा तैनाथ करिब दुई हजार अमेरिकी सेना फिर्ता गर्ने र विश्वव्यापी रुपमा अमेरिकी सुरक्षा अधिकारीको भूमिकालाई अन्त्य गर्ने ट्रम्पले घोषणा गर्नु भएको थियो । 

यस्तो अवस्थामा अमेरिकी राष्ट्रपति ट्रम्पले गर्नुभएको इराक भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ । राष्ट्रपति ट्रम्प र अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प स्थानीय समयअनुसार बुधबार बेलुका ७ः१६ मा पश्चिम इराकमा रहेको अल असाद एयर बेसमा पुग्नु भएको थियो । 

राष्ट्रपति ट्रम्पले इराक छोड्नु केही घण्टा अगाडि करिब एक सय जना अमेरिकी विशेष सैन्य कमाण्डर र अरु केही अधिकारीहरुसँग सामूहिक वार्ता गर्नुभएको थियो । 

यसरी विभिन्न समूहमा छुट्टाछुट्टै रुपमा गरिएको वार्ताको क्रममा हाल इराकमा रहेका अमेरिकी सैनिकको अवस्थाका साथै इराकको सुरक्षा अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ । 

यसअघि नै इराकका प्रधानमन्त्री अदेल अब्देलसँग ट्रम्पको औपचारिक भेटवार्ता हुने कुरा थियो । तर पछि भने उहाँहरुबीच भेट नभई फोनवार्ता मात्र भएको बताइएको छ । 

इराकी प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिका अनुसार वार्ताका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले इराकी प्रधानमन्त्रीलाई अमेरिका भ्रमणको निमन्त्रणा दिनुभएको थियो । 

त्यस फोनवार्ताका क्रममा अमेरिकी सेना फर्काउने विषयमा उहाँहरुबीच कुराकानी भए नभएको बारेमा भने केही बताइको छैन । 

इराकमा रहेको अमेरिकी सैन्य बेस क्यापमा हँसिलो मुहार लगाएर अमेरिकी राष्ट्रपतिको स्वागतार्थ बसेका अमेरिकी सुरक्षा अधिकारीहरुसँग राष्ट्रपति ट्रम्पले हात मिलाउनुभएको थियो । साथै उहाँले सैन्य अधिकारीहरुलाई अटोग्राफ पनि दिनुभएको थियो । 

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले यससम्बन्धी भिडियो पनि सार्वजनिक गरेकोे छ । राष्ट्रपति ट्रम्प इराकको भ्रमण सकेर जर्मनी पुग्नुभएको समाचारमा जनाइएको छ ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया